काठमाडौं । फाइभजी परीक्षण ताेकिएकाे समयभन्दा ६ महिना ढिला हुँदा पनि नियामकले ‘जेठो छोरा’ लाई मात्र पाेसिरहेकाे एनसेल आजियटाका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले बताएका छन् ।
बिहीबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यायले नियामक निकायले फाइभजी परीक्षणका लागि अनुमति नदिँदा आफ्नो कम्पनीले फाइभजी सेवाकाे प्रक्रिया अगाडि बढाउन नसकेको उल्लेख गरे ।
''फाइभजी ट्रायल गएको जुलाई महिनामा लञ्च गरिसक्नुपर्ने हो, तर ६ महिनासम्म लञ्च हुन नसक्दा पनि जेठै छोरालाई मात्र पोस्छु भन्ने कुरा अपाच्य जस्तो लाग्छ,'' उनले भने, यसकारण म सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु, हामीले आवेदन दिएका छौँ चाँडोभन्दा चाँडो अप्रुभ गरिदिएको खण्डमा 'कान्छो छोरा' (एनसेल) ले पनि खान पाउने थियो,'' उनले भने ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हाल नेपाल टेलिकमलाई मात्र फाइभजी परीक्षणकाे अनुमति दिएको छ । यसअन्तर्गत टेलिकमले आन्तरिक परीक्षणकाे काम गरिरहे पनि सुस्त छ ।
फाइभजी परीक्षण गर्न एनसेलले अनुमति मागेको छ महिनासम्म पनि नियामक निकायले अनुमति नदिनुलाई अभिभावकबाट सौतेनी व्यवहार भएको संकेत उपाध्यायले गरे ।
एनसेल पनि बजारको प्रतिस्पर्धी कम्पनी भएकाले फाइभजी परीक्षणको अनुमति एउटा कम्पनीलाई मात्र दिनु उचित नहुने उनको भनाइ थियो ।
"एउटा कम्पनीले मात्र ट्रायल गरेर हुँदैन । समस्या अरु अपरेटरलाई पनि आउँछ । 'टेक्निकल इस्युज' हामीलाई पनि आउनसक्छ । तर हामीसँग अर्को पाँच ओटा देशको पनि अनुभव पनि छ । यसकारण अनुमति दिएकाे खण्डमा निश्चित समयमा काम गरेर देखाउनसक्ने क्षमता राख्छाैँ,'' उनले भने ।