close

‘प्राइस वार’ रोक्ने नाममा धमाधम सस्ता इन्टरनेट प्याकेज बन्द गर्दै सेवा प्रदायक

टेकपाना टेकपाना

जेठ ४, २०८० १८:५२

‘प्राइस वार’ रोक्ने नाममा धमाधम सस्ता इन्टरनेट प्याकेज बन्द गर्दै सेवा प्रदायक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरू धमाधम आफ्ना सस्ता प्याकेज बन्द गर्न थालेका छन् । सस्तो मूल्यमा इन्टरनेट दिन सुरु भएको ‘प्राइस वार’ अर्थात प्रतिस्पर्धाबाट थाकेपछि कम्पनीहरू बजार सुधारमा जुटेका हुन् । 

सस्तो इन्टरनेट दिने नाममा कतिपय इन्टरनेट सेवा प्रदायक कम्पनीहरू टिक्नै नसक्ने अवस्था बनेको भन्दै लागतभन्दा सस्ता भनिएका इन्टरनेट प्याकेज बन्द हुन थालेका हुन् । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालका सीईओ सुभास खड्काले सेवा प्रदायकहरूबीच ‘प्राइस वार’मा नजाने गरी भद्र सहमति भएको बताए । 

त्यसै अनुरूप नेपालकै सस्तो इन्टरनेटको नाममा प्रचारमा आएको वाईफाई नेपालले आफ्ना सबै प्याकेजको मूल्य बढाएको छ । कम्पनीले नेपालकै सस्तो इन्टरनेटको रूपमा ५० एमबीपीएस गतिको प्याकेज उपलब्ध गराइरहेको थियो ।

वाईफाई नेपालको सबैभन्दा सस्तो योजनाको रूपमा रहेको यो प्याकेजको मूल्य ३६७ रुपैयाँ (तीन महिनाका लागि ११०० रुपैयाँ) रहेकोमा अहिले बढाएर मासिक ९५० रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै कम्पनीले तीन महिने प्याकेज लिने ग्राहकलाई मासिक ५३३ रुपैयाँ पर्ने ८० एमबीपीएस गतिको प्याकेज बन्द गरेर त्यसको ठाउँमा  मासिक ९५० रुपैयाँ पर्ने ७५ एमबीपीएस गतिको प्याकेज ल्याएको छ । कम्पनीको नयाँ दररेट अनुसार मासिक १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मूल्य ११५० रुपैयाँ तोकिएको छ । 

अर्को तर्फ नेपाली इन्टरनेट बजारलाई सस्तो इन्टरनेट दिने प्रतिस्पर्धामा धकेल्ने सीजीनेटले पनि आफ्ना सस्ता इन्टरनेट प्याकेज बन्द गरिसकेको छ । कम्पनीले मासिक ६४९ रुपैयाँमा उपलब्ध ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिन छोडिसकेको छ । हाल कम्पनीको सबैभन्दा सस्तो प्याकेज १३० एमबीपीएस गतिको इन्टरनेट एक वर्षका लागि खरिद गर्दा मासिक ७९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

यसैगरी भायानेटले पनि मासिक ८०० रुपैयाँमा उपलब्ध ७५ एमबीपीएस गतिको आफ्नो सस्तो इन्टरनेट प्याकेज बन्द गरिसकेको छ । हाल कम्पनीको सबैभन्दा सस्तो प्याकेज एक वर्षका लागि २०० एमबीपीएस गतिको इन्टरनेट खरिद गर्दा मासिक ९९९ रुपैयाँ पर्न आउँछ । 

यसैगरी क्लासिक टेकले मासिक ७४१ रुपैयाँ पर्ने १०० एमबीपीएसको गतिको इन्टरनेट प्याकेज बन्द गरिसकेको छ । हाल उसको सबैभन्दा सस्तो प्याकेज १५० एमबीपीएस गतिको इन्टरनेट एक वर्षका लागि खरिद गर्दा मासिक १२०१ रुपैयाँ पर्न आउँछ । 

अन्य कम्पनीहरूका सस्ता प्याकेज भने खासै परिवर्तन भएका छैनन् । सुबिसुको सबैभन्दा सस्तो प्याकेजमा १०० एमबीपीएस गतिको इन्टरनेट एक वर्षका लागि खरिद गर्दा मासिक ९४० रुपैयाँ पर्न आउँछ । 

नेपाल टेलिकमको सबैभन्दा सस्तो प्याकेजको रूपमा रहेको २५ एमबीपीएस गतिको इन्टरनेट प्याकेज एक वर्षका लागि खरिद गर्दा मासिक ८५९ रुपैयाँ पर्छ । त्यस्तै वर्ल्डलिङ्कले सबै भन्दा सस्तो प्याकेजको रूपमा २०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराएको छ । जुन एक वर्षका लागि खरिद गर्दा मासिक १०५० रुपैयाँ पर्छ । 

तर बजारमा आक्रामक रूपमा प्रस्तुत भइरहेको डिशहोमले भने आफ्नो सस्ता इन्टरनेट प्याकेजको मूल्य यथावत राखेको देखिन्छ । कम्पनीको ७५ एमबीपीएस इन्टरनेट प्याकेज एक वर्षका लागि लिँदा विद्यमान ग्राहकलाई मासिक ५९५ रुपैयाँ पर्छ । 

त्यस्तै एक वर्षे प्याकेजमा १०० एमबीपीएस लिनेलाई मासिक ६८७ रुपैयाँ, १५० एमबीपीएसको ८२४, २०० एमबीपीएसको ८७० रुपैयाँ, २५० एमबीपीएसको ९१६ र ३०० एमबीपीएसलाई ११४५ रुपैयाँ पर्न आउँछ । 

 

सस्ता इन्टरनेट प्याकेज बन्द गर्दा वा मूल्य बढाउँदा कारबाही गर्न सक्दैन नियामक

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले केही दिन अघि मात्र आपसी मिलेमतोमा इन्टरनेट सेवाको महसुल दर बढाएको विषय प्रति ध्यानाकर्षण गर्दै स्वीकृत महसुल दरभन्दा बढी लिन लिने कार्य नगर्न र त्यसो गराएको पाइए कारबाही गर्ने आशय व्यक्त गरेको थियो ।

तर हाल प्रायः सबै जसो सेवा प्रदायकले सस्तो भनेर ल्याएका र हाल बढाएका कुनै पनि इन्टरनेट प्याकेज प्राधिकरणबाट स्वीकृत भएका छैनन् । 

पछिल्लो समय मूल्य वृद्धि गरिएका भनिएका प्याकेज प्राधिकरणबाट स्वीकृत महसुलको तुलनामा भने सस्ता देखिन्छन् । यस्तोमा स्वीकृत महसुल दरभन्दा बढी शुल्क लिने नाममा प्राधिकरणले कुनै पनि सेवा प्रदायकलाई कारबाहीको दायरामा ल्याउन सक्ने अवस्था देखिँदैन ।

बरु यसअघि जस्तै महसुल दर स्वीकृत नगराएरै सेवा उपलब्ध गराएको विषयमा भने नियामकले सेवा प्रदायकमाथि कारबाही गर्न सक्छ । 

यसअघि इन्टरनेट सेवाप्रदायक बीच ‘प्राइस वार’को नाममा अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्ने नियामक अहिले सेवा प्रदायकले ‘करेक्सन गर्न’ खोज्दा ‘मूल्य वृद्धि’को समाचारले तरङ्गित भएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १८:५२