close

यस्तो छ झन्डै पाँच लाख मूल्य पर्ने एप्पलको ‘भिजन प्रो हेडसेट’

टेकपाना टेकपाना

जेठ २४, २०८० १५:१५

यस्तो छ झन्डै पाँच लाख मूल्य पर्ने एप्पलको ‘भिजन प्रो हेडसेट’

काठमाडौं । एप्पलले हरेक समय कुनै न कुनै विशेष र क्रान्तिकारी सामग्री बजारमा ल्याउँछ भन्नेमा मानिसहरू विश्वस्त थिए । तर, सन् २०१५ पछि एप्पलले बजारमा त्यस्तो उत्पादन वा सामग्री ल्याउन सकेको थिएन, जसका लागि मानिसहरूको ब्यग्र प्रतीक्षा होस् । हरेक समय उस्तै सामग्री सार्वजनिक गरिरहँदा केहीले कम्पनी उत्पादनमा कम र सेवामा बढी केन्द्रित हुन थालेको हो कि भन्ने सोचिरहेका थिए ।

तर, सोमबारदेखि जारी वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूब्लूडीसी) २०२३ मा कम्पनीले यस्तो प्रडक्ट सार्वजनिक गरेको छ, जसलाई विश्वभर मानिसहरूले प्रशंसा गरिरहेका छन् । त्यो हो ‘भिजन प्रो हेडसेट’ ।

पछिल्लो समय विभिन्न कम्पनीहरू एआर/भीर हेडसेट निर्माणमा सक्रिय छन् । हालै फेसबुकको मातृ कम्पनी मेटाले पनि ‘क्वेस्ट टु’ हेडसेट सार्वजनिक गरेको थियो । तर, उक्त हेडसेटबारे बजारमा त्यति चर्चा भएन ।

यता एप्पलले सार्वजनिक गरेको हेडसेटलाई भने मानिसहरूले भिन्नाभिन्नै रूपमा विश्लेषण गरेका छन् । आज हामी ‘भिजन प्रो’ हेडसेटमा त्यस्ता के विशेषता छन्, जसले गर्दा उक्त डिभाइसको चौतर्फी चर्चा भइरहेको छ भन्ने विषयमा जानकारी दिन्छौं ।

अग्मेन्टेड/भर्चुअल रियालिटीमा आधारित एप्पलको पहिलो हेडसेटलाई कम्पनीले नयाँ पुस्ताको कम्प्युटर समेत भनेको छ । हाल हेडसेट घोषणा मात्र गरिएको हो । त्यसैले कार्यक्रमका क्रममा कसैले पनि उक्त हेडसेट लगाएर वा छोएर जाँच गर्न पाएनन् ।

कम्पनीले जे कुराको दाबी गरेको छ, अहिले त्यसैमा विश्वास गर्नुपर्ने अवस्था छ । 'भिजन प्रो' यस्तो हेडसेट डिभाइस हो, जो एप्पलको शक्तिशाली एमटु चिपसेटद्वारा सञ्चालित छ । दुवै आँखाका लागि यसमा दुई ओटा माइक्रो ओएलईडी डिस्प्ले समावेश गरिएको छ । यी डिस्प्लेले फोरके रेजोलुसनभन्दा राम्रो अनुभव दिने कम्पनीको दाबी छ । 

दुवै कानको छेउमा हुने फितामा स्पिकर जडान गरिएको छ । यसमा भएको आर वान (R1) चिपले वास्तविक समयमा विभिन्न सेन्सरबाट उपलब्ध डेटाहरू सङ्कलन गरेर त्यही अनुसार डिभाइसलाई व्यवस्थापन गर्न सक्छ । ​

भिजन प्रोले कसरी काम गर्छ ?

यसो त एआर भीआर हेडसेटका बारेमा थुप्रै चर्चाहरू भइसकेका छन् । केही कम्पनीका एआरभीआर हेडसेट बजारमा पनि उपलब्ध छन् । सामान्य तरिकाले बुझ्नुपर्छ एआर भीआर हेडसेटमा भित्र छुट्टै स्क्रिन हुन्छ । र, बाहिरबाट उक्त स्क्रिन ढाकिएको हुन्छ ।

त्यसबाहेक पनि विशेष बाहिरपट्टि विभिन्न सेन्सरहरू जडान गरिएका हुन्छन् । ती सेन्सरहरूले तपाईंको वरिपरि के के कुराहरू भइरहेका छन् त्यसलाई स्क्रिनमा देखाउँछ । 

एप्पलको भिजन प्रो हेडसेटमा भने कुनै किसिमका कन्ट्रोलर छैनन् । अर्थात भौतिक रूपमा बटनहरू छोएर डिभाइस कन्ट्रोल गर्ने सुविधा यसमा छैन । कम्पनीका अनुसार यसलाई पूर्ण रूपमा आँखा, आवाज र हातको चालद्वारा नियन्त्रण गर्न सकिन्छ ।

तपाईंले हेडसेट लगाउनु भयो भने सबै सेन्सरहरू सक्रिय हुन्छन् । यस हेडसेटमा दुई ओटा मुख्य क्यामेरा सेन्सर, हेडसेटको तल्लो भागमा दुई ओटा क्यामेरा, दुई ओटा आआर इलुमिनेटर र दुई ओटा साइड क्यामेरा सेन्सर रहेका छन् ।

त्यस्तै नाकभन्दा सोझै माथि पर्ने भागमा लाइडर स्क्यानर (LiDAR Scanner) र उक्त सेन्सरको छेउछेउमा दुई ओटा 'ट्रु डेफ्थ' क्यामेरा सेन्सर रहेका छन् । यी सबै सेन्सरका माध्यमबाट हाम्रो वरिपरि के के भइरहेका छन् भन्ने कुरा एक ठाउँमा अडिएर हेर्न सकिन्छ । र, अनुहारको अगाडि हातका औंलाहरू चलाएर त्यसलाई आफ्नै तरिकाले नियन्त्रण र प्रयोग गर्न सकिन्छ ।

डिभाइसभित्र पनि विभिन्न चार किसिमका इन्फारेड क्यामेरा र दुई ओटा एलईडी इलुमिनेटर सेन्सर रहेका छन् । ती क्यामेरा सेन्सर र इलुमिनेटर सेन्सरले प्रयोगकर्ताको आँखालाई ट्रयाक गरिरहेका हुन्छन् । कम्पनीले हेडसेटलाई प्रयोगकर्ताको आवश्यकता अनुसार कस्टमाइज गरेर उपलब्ध गराउने बताइएको छ ।

ग्लास, मेटल र फेब्रिकबाट बनेको यो हेडसेट प्रयोगकर्तालाई लगाउन कम्फर्टेबल बनाउने कम्पनीको भनाइ छ । यस हेडसेटमा भएको सबैभन्दा आकर्षक पक्ष भनेको यसले आँखा ट्रयाक गर्न सक्नु हो । तपाईंले आफ्नो आँखा कता घुमाउनु हुन्छ हेडसेटका सेन्सरले त्यसलाई ट्रयाक गरेर तपाईंले हेरेका ठाउँलाई स्क्रिनमा देखाउँछ । यसमा टाउको घुमाएर वरिपरि हेर्नुपर्ने वाध्यता हुँदैन भनिएको छ ।

यही विशेषतालाई पनि विश्लेषकले आकर्षक फिचर भन्दै विश्लेषण गरेका छन् । त्यति मात्र नभइ तपाईंले स्क्रिनमा कुन ठाउँमा हेर्नु भएको छ, डिभाइसले त्यही अप्सन सेलेक्ट गर्छ । स्क्रोल गर्नुपर्‍यो वा स्लाइड गर्नुपर्‍यो भने त्यो पनि आँखाकै चालबाट गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । 

स्क्रिनमा देखिएको कुरा जति नै सानो किन नहोस् तपाईंको आँखा त्यहाँ परेको छ भने डिभाइसको सेन्सरले त्यसैलाई सेलेक्ट गर्छ । त्यस्तै तपाईंले स्क्रिनमा भएका कुरा सेलेक्ट गर्नुपर्‍यो भने औंला हेडसेट अगाडि लगेर चलाउन सक्नुहुन्छ । भिजन प्रो हेडसेटमा हुने कुनै एप्लिकेसनमा टाइप गर्नुपर्यो भने पनि आँखा र हातकै चालबाट टाइप गर्न सकिन्छ । 

डिभाइसमा अप्टिक आइडी फिचर पनि रहेको छ । यसका माध्यमबाट डिभाइसले प्रयोगकर्ताको आँखाको रेटिनालाई विश्लेषण गरेर डिभाइस अनलक गर्छ । सुरक्षाका लागि यसमा फिङ्गरप्रिन्ट सेन्सरको सुविधा पनि रहेको कम्पनीको भनाइ छ । 

यो डिभाइसलाई एउटा भर्चुअल कम्प्युटरका रूपमा प्रयोग गर्न सक्नुका साथै चस्माका रूपमा पनि प्रयोग गर्न सकिन्छ । हेडसेट लगाएको समयमा अगाडि भएको प्रयोगकर्ताले हेडसेट लगाउने व्यक्तिको आँखा देख्न सक्छन् भने प्रयोगकर्ताले पनि लेन्समार्फत बाहिरका कुराहरू देख्न सक्छन् । तर, स्क्रिनमा देखिएका आँखा भने प्रयोगकर्ताका वास्तविक आँखा हुँदैनन् । ती केवल ओलेड स्क्रिनमा देखिने प्रयोगकर्ताका आँखा हुन् । 

यदि हेडसेट लगाएको व्यक्तिले त्यसमा कुनै भिडिओ हेरिरहेको छ भने बाहिरको व्यक्तिले  प्रयोगकर्ताका आँखा देख्दैनन् । त्यस बेला बाहिरबाट आँखाको भागमा भिडिओको ग्राफिक्स देखिने कम्पनीको भनाइ छ । 

यस डिभाइसका लागि कम्पनीले छुट्टै अपेरेटिङ सिस्टम (ओएस) तथा युआई सिस्टम उपलब्ध गराएको छ । सो अपेरेटिङ सिस्टमलाई कम्पनीले ‘भिजनओएस’ नाम दिएको छ । यो ओएस पूर्ण रूपमा आईप्याड ओएस जस्तै हुने बताइएको छ ।

कम्पनीका अनुसार यसमा छुट्टै एप स्टोर हुनेछ । भन्नुको अर्थ एप स्टोरमा जति पनि एप छन् ती सबै एप सो हेडसेटबाट प्रयोग गर्न सकिनेछ । तर, त्यसका लागि डेभलपरले त्यही अनुसार एप डिजाइन गर्नुपर्ने हुन्छ । त्यसैले सुरुवाती अवस्थामा डिभाइसमा एप्पलका एप मात्र उपलब्ध हुने अपेक्षा गरिएको छ । यस डिभाइसलाई छुट्टै कम्प्युटरका रूपमा समेत प्रयोग गर्न सकिन्छ । कोठाको छुट्टाछुट्टै कुनालाई छुट्टै डिस्प्ले बनाइ ती डिस्प्लेमा आफूले चाहेका एप वा ब्राउजर खोल्न सकिन्छ । 

त्यस्तै भिजन हेडसेटलाई म्याकमा समेत कनेक्ट गर्न सकिने कम्पनीको भनाइ छ । भन्नुको अर्थ तपाईंले हेडसेट लगाउनु भयो र अगाडि म्याक खोल्नुभयो भने म्याकको स्क्रिनमा देखिएको सबै कुरा हेडसेटको स्क्रिनमा देखिन्छ ।

त्यस्तै ब्लुटुथ किबोर्ड र ब्लुटुथ ट्रयाकप्याडलाई हेडसेटमा कनेक्ट गरेर त्यसबाट पनि म्याकलाई नियन्त्रण गर्न सकिन्छ । यस्तोमा तपाईंले आफ्नै अगाडि ठूलो म्याक स्क्रिनमा काम गरिरहेको अनुभव पाउन सक्नुहुनेछ । 

यस डिभाइसमा भएको अर्को आकर्षक पक्ष भनेको फेसटाइम हो । भन्नुको अर्थ तपाईंले हेडसेट लगाइसकेपछि विभिन्न व्यक्तिसँग भिडिओ च्याट गर्न सक्नुहुन्छ । यसरी भिडिओ च्याट गर्दा ती मानिसहरू आफ्नै अगाडि भएको अनुभव पाउन सकिने जानकारहरूले बताएका छन् ।

यसका लागि तपाईंले आफ्नो अघि फोन वा म्याक राख्नु पर्दैन । हेडसेटको सेन्सरले तपाईंको थ्रीडी मोडेल बनाएर, तपाईंको अनुहारका चाललाई ट्रयाक गरी वास्तविक जस्तो बनाएर स्क्रिनमा देखाउँछ । यसमा देखिने अवतार वास्तविक जस्तै देखिने बताइएको छ । 

एआर भीआर प्रविधि मात्र नभइ यस हेडसेटमा देखिनका लागि त्यस्तै किसिमका कन्टेन्ट (भिडिओ) बनाउनुपर्ने हुन्छ । यसका लागि कम्पनीले नेटफ्लिक्स, डिज्नी जस्ता स्ट्रिमिङ प्लेटफर्मसँग सहकार्य गरेको खबर बाहिर आएको छ । त्यस्तै पछि आउने एआरभीआर गेमहरू पनि यही हेडसेटबाट हेर्न वा खेल्न सकिनेछ । 

यसमा भएका क्यामेराका माध्यमबाट थ्रीडी फोटो वा भिडिओ पनि खिच्न सकिने बताइएको छ । यस्ता भिडिओ पछि हेडसेटमा हेर्दा वास्तविक समयमा उक्त दृश्य देखिरहेको आभास हुनेछ । 

आँखा र हातका औंलाहरू ट्रयाक गरेर डिभाइस नियन्त्रण हुन सक्ने यस हेडसेटको फिचरलाई सबैभन्दा आकर्षक फिचरका रूपमा हेरिएको छ । यसमा कन्ट्रोलर नहुने भएकाले 'ह्याप्टिक फिडब्याक'को अभाव हुन्छ । भन्नुको अर्थ भौतिक रूपमा डिभाइस प्रयोग गरिरहेको अनुभव पाउन सकिँदैन । भर्चुअल संसार नरुचाउनेहरूका लागि यो डिभाइस उपयुक्त नलाग्ला भन्न सकिँदैन । 

यसलाई एक पटकको फुल चार्जमा दुई घण्टा प्रयोग गर्न सकिने भनिएको छ । जसलाई विश्लेषकले कमजोर पक्षका रूपमा चर्चा गरेका छन् । किनभने हेडसेटमा फिल्म नै हेर्नुपर्‍यो भने पनि दुई घण्टा बढी हुन्छ । त्यस्तोमा चार्ज लगाएर डिभाइस प्रयोग गर्दा प्रयोगकर्तालाई झन्झट हुन सक्छ ।

यसैगरी यो डिभाइस अन्य हेडसेटको तुलनामा गह्रुङ्गो छ । त्यसैले धेरै समय टाउकोमा लगाउँदा भारी हुन्छ कि भन्ने विश्लेषकको चिन्ता छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा यो डिभाइसको मूल्य तीन हजार ४९९ डलर (करिब चार लाख ६१ हजार रुपैयाँ) तोकिएको छ ।

यो रकम सबैभन्दा महँगो आईफोन (आईफोन १४ प्रो म्याक्स १ टीबी स्टोरेज मूल्य १५९९ डलर)भन्दा दोब्बर बढी हो । त्यसैले शुल्क अनुसारका फिचरहरू पाउन सकिन्छ वा सकिँदैन शंकाको विषय हो ।

अमेरिकामा यसै वर्ष उपलब्ध हुने भनिएको यो डिभाइस अमेरिका बाहिर भने सन् २०२४ पछि मात्र उपलब्ध छ । कसैले पनि प्रयोग गर्न नपाएको अवस्थामा माथि उल्लेखित फिचरहरू कम्पनीका दाबी मात्र हुन् । त्यसैले हामी डिभाइस सार्वजनिक भएर बजारमा आउने समयसम्म पर्खिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८० १५:१५