close

बन्द हुन नदिन पैसा तिरेर एमडीएमएसमा यसरी दर्ता गर्नुहोस् आफ्नो मोबाइल फोन

टेकपाना टेकपाना

असार १०, २०८० १३:११

बन्द हुन नदिन पैसा तिरेर एमडीएमएसमा यसरी दर्ता गर्नुहोस् आफ्नो मोबाइल फोन

काठमाडौं । मोबाइल फोनको अवैध आयात तथा प्रयोग नियन्त्रण गर्न भन्दै १ जेठदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । त्यसै अनुरूप १ साउनदेखि दर्ता नभएका फोन नेपालमा चल्न नदिने बताइएको छ । 

तर यसअघि नेपाल भित्रिएर प्रयोगमा रहेका, तर एमडीएमएसमा दर्ता नभएका मोबाइल प्रयोगकर्तालाई सरकारले बजेटमार्फत पैसा तिरेरै दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । जसअनुसार भदौ २०७९ देखि १५ जेठ २०८० भित्र आयात गरिएका फोनहरू रकम बुझाएर एमडीएमएसमा दर्ता गर्न सकिनेछ । 

यसरी फोन दर्ता गर्ने समयसीमा यही असार मसान्तसम्मका लागि मात्रै रहेको छ । यदि तपाईंले प्रयोग गरिरहेको फोन एमडीएमएसमा दर्ता छैन भने यो सामग्री तपाईंका लागि हो । 
 

एमडीएमएसमा मोबाइल फोन दर्ता भए/नभएको कसरी हेर्ने ? 

-यसका लागि सबैभन्दा पहिला एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा खोल्नुहोस् अथवा यहाँ क्लिक गरी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टलमा जानुहोस् । 

-त्यहाँ थोरै तलतर्फ जानुहोस् र बायाँतर्फ दिइएको बक्समा आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर 'खोज्नुहोस्' लेखिएको निलो बटनमा दबाउनुहोस् । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ । 

-यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ । अन्यथा दर्ता नभएको जानकारी सहित दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनले लिङ्क सहितको विन्डो खुल्छ ।

मोबाइल एमडीएमएसमा दर्ता गर्ने तरिका

सरकारले भदौ २०७९ देखि १५ जेठको बीचमा प्रयोगमा आएका तर, एमडीएमएसमा दर्ता नभएका मोबाइल फोनलाई ‘ग्रे मोबाइल फोन’को सूचीमा राखेको छ । यस्ता फोनलाई वैध फोन बनाउन निश्चित राजस्व तिरेर उक्त सिस्टममा दर्ता गर्नुपर्ने हुन्छ ।

जसका लागि आईफोन तथा एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनका लागि १० हजार रुपैयाँ, एक लाख रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनका लागि तीन हजार रुपैयाँ र अन्य मोबाइल फोनका लागि २०० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनु पर्ने हुन्छ । 

-सबैभन्दा पहिला गुगलमा गएर ‘ग्रे रजिस्ट्रेसन’ (Grey registration nta) खोजेर सुरुको लिङ्कमा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् । 

-अब एउटा पेज खुल्छ, त्यसमा मोबाइल डिटेल (Mobile Detail) खण्डमा आफ्नो मोबाइलको आईएमईआई नम्बर (जति सिम कार्ड सपोर्ट गर्ने फोन हो, त्यति), ब्रान्ड तथा कम्पनीको नाम र मोडल नम्बर राख्नुहोस् । यदि आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी पत्ता लगाउनुहोस् । 

-यति गरिसकेपछि पर्सनल इन्फरमेसन (Personal Inormation) खण्डमा आफ्नो नाम, सम्पर्क नम्बर, प्यान नम्बर र स्थायी ठेगाना खुलाउनुहोस् । 

-अब अन्तिममा रहेको प्रोसिड टु नेक्स्ट स्टेप (Proceed to next step) थिच्नुहोस् ।

 

-नयाँ खुल्ने पेजमा भर्खरै तपाईंले राखेका विवरणहरू देखिनेछन् । त्यसमा रहको आफ्नो मोबाइलको विवरण राम्रोसँग यकिन गर्नुहोस् । याद राख्नुहोस्, भुक्तानी पश्चात तपाईंले राखेको विवरण परिवर्तन गर्न सकिंदैन । सबै विवरण ठीक छ भने भुक्तानीका लागि प्रोसिड टु पेमेन्ट (Proceed to payment) बटनमा थिच्नुहोस् ।

 

 

-खल्ती, ईसेवा वा कनेक्ट आईपीएसबाट तपाईंले तोकिएको शुल्क भुक्तानी गर्न सक्नु हुनेछ । यदि कनेक्ट आईपीएस छनौट गर्नु भयो भने एउटा क्यूआर कोड प्राप्त गर्न सकिन्छ । कुनै पनि डिजिटल वालटे तथा मोबाइल बैंकिङ एपमार्फत यो कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।  यदि भुक्तानी सफल भएको म्यासेज नआउँदै खाताबाट पैसा काटियो भने पनि बुझ्नुहोस्, तपाईंको भुक्तानी सफल भयो ।

 

-भुक्तानी भएसँगै तपाईंको मोबाइल स्वतः एमडीएमएसमा दर्ता हुनेछ । 

-भुक्तानी भएको एक घण्टापछि तपाईंले यहाँ क्लिक गरी आफ्नो मोबाइल दर्ता भए/नभएको यकिन गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असार २२, २०८० १८:४९