काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा चर्चित व्यक्तिका नक्कली पेज तथा अकाउन्ट बनाएर विभिन्न तरिकाले झुक्काउने प्रवृत्ति बढेको छ । विशेषगरी प्रतिनिधि सभा सदस्य रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नक्कली पेज बनाएर पुराना लाइभ भिडिओ प्रसारित भइरहेका छन् ।
त्यस्ता लाइभ भिडिओमा लाखौं रुपैयाँ उपहार प्राप्त हुने आश्वासन दिएर भिडिओ शेयर गर्न र सही उत्तर कमेन्ट गर्न प्रोत्साहन गरिएको हुन्छ । सामान्य ढङ्गले हेर्ने हो भने त्यसरी लाइभ गर्नुको एउटै उद्देश्य हुन्छ, फेसबुक वा ग्रुपमा मेम्बर बढाउने ।
कमेन्ट गर्नेहरूले १५ ओटा ग्रुपमा लाइभ भिडिओ शेयर गरेपछि मात्र पुरस्कारका लागि योग्य हुने भनिएको हुन्छ । जसले गर्दा फेसबुक प्रयोगकर्ताले ती लाइभ भिडिओ विभिन्न ग्रुपमा शेयर गरिरहेका थिए ।
लगत्तै नक्कली पेज प्रयोग गर्ने व्यक्तिले कमेन्टको रिप्लाई र इनबक्समा लिङ्क पठाउने गरेको पाइयो । यसबाट उनीहरूको उद्देश्य मेम्बर बढाउने त छँदै थियो, सँगसँगै कुनै नयाँ ढङ्गले ठगी गर्न लागेको अनुमान लगाउन सकिन्थ्यो ।
लिङ्कमा के थियो ?
जसले लाइभ शेयर गर्छ वा धेरै समयसम्म भिडिओ हेर्छ, उसको इनबक्समा स्क्यामरले ब्लगपोस्टको एउटा लिङ्क पठाउँछ । उक्त लिङ्क खोल्नासाथ सबैभन्दा माथि रातो अक्षरमा “नोट: निश्चित गर्नुहोस् कि तपाईंले सही रूपमा दर्ता गर्नुभयो ताकि पैसा सोझै तपाईंको खातामा पठाइनेछ,” लेखिएको देखिन्छ ।
अलि तल 'बधाई छ' लेखिएको हुन्छ भने त्यसभन्दा मुनी “तपाईं एक भाग्यशाली व्यक्ति हुनुहुन्छ, विजेताको रूपमा छनोट हुनु भयो र नेपाल बाहिर नौ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुहुनेछ पाँच हजार डलर पाउनु हुनेछ,” लेखिएको देखिन्छ ।
त्यसपछि सर्वसाधारणलाई झुक्याउन तल पुरस्कार जितेको भान पार्ने किसिमका शब्दहरू राखिएका हुन्छन् । त्यसभन्दा तल मेयर बालेन्द्र शाह, हर्क साम्पाङ, रवि लामिछाने वा जो व्यक्तिको लाइभ भइरहेको छ, उसैको नाम हुन्छ ।
त्यसको तल पट्टि रजिस्टरको बटन हुन्छ । एनिमेसन बनाएर त्यसैमा क्लिक गर्न सङ्केत दिइएको हुन्छ । यदि त्यसमा क्लिक गर्ने हो भने पेज रिडाइरेक्ट भएर हलोसेल नामक वेबसाइटमा पुगिन्छ ।
त्यसमा नम्बर राख्न लगाइन्छ । नेपाल टेलिकमको नम्बर राख्दा मिल्दैन, तर एनसेलको नम्बर राख्दा प्रक्रिया अघि बढ्छ । त्यसपछि पेज रिडाइरेक्ट भएर कन्सेन्ट डट एनसेल डट आजियाटा डटकम डाेमेनकाे वेबसाइट खुल्छ । जहाँ पुनः नम्बर राख्न भनिएको हुन्छ ।
सो बक्समा नेपाल टेलिकमको माेबाइल नम्बर राख्दा ओटीपी आउँदैन । तर, एनसेलको नम्बर राख्दा भने ओटीपी प्राप्त हुन्छ ।
परीक्षणका क्रममा आजियाटाको आधिकारिक वेबसाइटबाट तयार भएको सब डोमेन वेबसाइटबाट फोन नम्बर तथा ओटीपी नम्बर राख्न भनेको पाइयो । यदि डिभाइसमा आएको ओटीपी कोड राख्ने हो भने ब्यालेन्स भएको अवस्थामा स्वतः १५६० रुपैयाँ पर्ने हेलोसेल गेमिङ सब्क्रिप्सन एक्टिभ हुन्छ र, सिममा भएको ब्यालेन्स काटिन्छ ।
यो स्क्याममा एनसेल सेवा कसरी जोडियो ?
यसरी झुक्काएर ठूलो रकमको सब्सक्रिप्सन खरिद गराउने काम भइरहेको पाइएपछि हामीले एनसेलसँग सम्पर्क गरेका थियौं । एनसेलका अनुसार कम्पनीले आफ्ना ग्राहकलाई हेलोसेल गेमिङ सब्स्क्रिप्सन उपलब्ध गराउन मार्भल मिडियासँग सहकार्य गरेको थियो ।
“यस सम्झौता अन्तर्गत मार्भल मिडियाले सेवाहरूको प्रवर्द्धन गर्न तथा उक्त सेवासँग सम्बन्धित अन्य काम गर्छ,” एनसेलले टेकपानालाई पठाएको ईमेलमा लेखिएको छ ।
उता मार्भल मिडियाले पनि प्रचारका लागि अन्य कम्पनीसँग सहकार्य गरेको छ । जसमा एफिलियट मार्केटिङ गर्नेहरूलाई पनि मार्भल मिडियाले विज्ञापनका लागि आवद्ध गराएको छ ।
एफिलियट मार्केटिङ भनेको त्यस्तो किसिमको विज्ञापन नीति हो, जसमा आवद्ध भएका व्यक्ति वा संस्थाले सेवा वा उत्पादन खरिद गराए वापत निश्चित कमिसन पाउँछन् । जति धेरै सेवा वा सामान बिक्री गर्न सक्यो, त्यति नै धेरै कमिसन ।
त्यसरी एफिलियट मार्केटिङ गर्ने संस्था वा व्यक्तिले गलत तरिकाले झुक्काएर सेवा सब्स्क्राइब गराएको देखियो ।
यो फेला पार्ने बित्तिकै मार्भल मिडियाले एफिलियट मार्केटिङका रूपमा आवद्ध संस्थाहरूसँग भएको सम्झौता रद्द गरेको विषय ईमेलमा उल्लेख छ । एनसेलले टेकपानालाई पठाएको ईमेलमा आफ्ना ग्राहकलाई आधिकारिक साइट तथा प्लेटफर्मबाट मात्र सेवा खरिद गर्न अनुरोध गरेको छ ।
“हामी सधैं ग्राहकको अनुभवलाई उच्च प्राथमिकता दिन्छौं,” ईमेलमा भनिएको छ, “यसको एउटा हिस्साको रुपमा हामीले सेवा नियन्त्रण गर्न ‘कन्सेन्ट म्यानेजमेन्ट सिस्टम’ र सर्भिस ‘डेलिभरी प्लेटफर्म’ लागू गरेका छौं । हरेक ग्राहकले त्यस्ता सेवाहरू एक्टिभ गर्नुअघि यी प्रणाली मार्फत जान अनुरोध गर्दछौं ।”
त्यसबाहेक पनि कम्पनीले आफूसँग आवद्ध भएका मार्केटिङ पार्टनरलाई सही ढङ्गले विज्ञापन भए नभएको निश्चित गर्न निर्देशन दिएको छ । उता नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने यस किसिमको ठगीको उजुरी हालसम्म प्राप्त नभएको बताए । "उजुरी आएको खण्डमा हामी आवश्यक छानबिन तथा अनुसन्धान अगाडि बढाउछौं," उनले भने ।
तर अझै रोकिएन फेक लाइभ देखाएर झुक्काउने काम
मार्भल मिडियाले एफिलियट मार्केटिङ गर्नेहरूसँग सम्झौता रद्द गरेपछि अहिले उनीहरू (स्क्यामर) ले पठाएको लिङ्क डाउन भएको छ । तर, कतिपय पेजबाट अहिले पनि सोही डाउन भएको पेज नै प्रवर्द्धन भइरहेको छ । तर, सम्झौता रद्द भएको थाहा पाउने पेजले भने फरक ढङ्गले ठगी गरिरहेका छन् ।
उनीहरूले फेसबुकमा प्रोमोट गरिरहेको ‘आश्चर्य नगद पुरस्कार’ ग्रुपमा ६७ हजार बढी मानिसहरू जोडिएका छन् । करिब दुई महिनाअघि खोलिएको यो ग्रुपमा तीब्र गतिमा मेम्बर थपिने क्रम चलिरहेको छ ।
हाल ग्रुपमा ५५ जना एड्मिन र मोडरेटर छन् । जसमा अधिकांश बालेन शाह, हर्क साम्पाङ, राजेश हमाल, रवि लामिछानेको नाम प्रयोग गरी बनाइएका नक्कली अकाउन्ट छन् ।
यसबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई हामीले सोधेका थियौं । कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले यो ठगीमा आफूहरूको ध्यान गएको र त्यसउपर अनुसन्धान भइरहेको जानकारी दिए ।
“हामीले सम्बन्धित विभागमा अनुसन्धान गर्न निर्देशन दिइसकेका छौं,” उनले भने ।
कसरी जोगिने ?
सामाजिक सञ्जालमा बढी सक्रिय हुने व्यक्तिहरूको पुराना भिडिओलाई भर्खर भइरहेको जस्तै देखिने गरी लाइभ गरेर ठगी गर्ने घटना नौलो होइन । स्क्यामरहरू फरकफरक तरिकाले ठगिरहेका हुन्छन् ।
अहिले झुक्याएर एनसेलको सब्स्क्रिप्सन खरिद गराउने काम भइरहेको छ । यसअघि फरक तरिकाले ठगी गर्ने काम भइरहेको थियो ।
यस्तोमा स्क्यामरले मालवेर लिङ्क पठाउने जोखिम पनि उत्तिकै छ । त्यसैले साइबर सुरक्षा जानकारले यसरी नक्कली अकाउन्टबाट पठाइएका लिङ्कहरू नखोल्न सुझाव दिएका छन् ।
फेसबुकमा विभिन्न व्यक्तिका ‘फ्यान क्लब’ नाममा खोलिने ग्रुपहरूमा यस्ता स्क्याम भइरहेका हुन्छन् । त्यसैले सकेसम्म त्यस्ता ग्रुपमा जोडिनु हुँदैन ।