close

अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण, यसरी लिनुहोस् सेवा

टेकपाना टेकपाना

साउन २३, २०८० १३:१६

अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण, यसरी लिनुहोस् सेवा

काठमाडौं । गत आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको काम अनलाइनबाट गर्न सकिने भएको छ । कन्सुलर सेवा विभागले उक्त कामका लागि अनलाइन आवेदन तथा राजस्व भुक्तानीको व्यवस्था गरेको हो ।

विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूलाई यो सुविधाले निकै सहयोग गर्ने देखिन्छ । उनीहरूले घरबाटै आफैंले चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेर त्यसलाई प्रिन्ट गर्न सक्नेछन् ।

यस अनलाइन व्यवस्थाले कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न त्रिपुरेश्वरस्थित कार्यालयमा पुग्नु पर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । तर यो काम गर्न तपाईंले प्रहरी चारित्रिक प्रमाणपत्र भने पहिल्यै लिएको हुनु पर्छ ।

तपाईंले अनलाइन वा नागरिक एपबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सक्नुहुन्छ । आज हामी तपाईंलाई त्यही चारित्रिक प्रमाणपत्र कसरी अनलाइनबाट प्रमाणीकरण गर्ने भन्ने बारे बताउँदै छौं:

-कन्सुलर सेवा विभागको वेबसाइटमा जानुहोस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

-दायाँ भागमा रहेको ‘अनलाइन एप्लिकेसन फर पुलिस क्लियरेन्स सर्टिफिकेट’मा क्लिक गर्नुहोस् ।

-अब तपाईं ‘प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको अनलाइन फाराम भर्ने तरिका’ खण्डमा पुग्नु हुनेछ । त्यो पढेर ‘मैले माथि दिएको अनलाइन फाराम भर्ने तरिका पढें’ भन्नेमा टिक लगाउनुहोस् । र छेउमा रहेको ‘नेक्स्ट’मा क्लिक गर्नुहोस् ।

 

-त्यहाँ क्याप्चामा दिइएको अक्षर/नम्बर भर्नुहोस् । 

-अब खुल्ने नयाँ डिस्प्लेमा तपाईंको प्रहरी चारित्रिक प्रमाणपत्रमा उल्लेख गरिएको डिस्प्याच नम्बर जन्म मिति राखेर सब्मिट गर्नुहोस् ।

 

 

-त्यसपछि प्रहरी चारित्रिक प्रमाणपत्र साथै राहदानी र नागरिकता वितरण समेत देखिन्छ । 

-अब मोबाइल नम्बर उल्लेख गरी 'नेक्स्ट' बटनमा क्लिक गर्नुहोस् ।

-त्यहाँ रिफरेन्स नम्बर, ईबीपी नम्बर र रकम देखिन्छ । देखिएको रिफरेन्स नम्बरलाई सुरक्षितसँग राख्नुहोला । ईबीपी नम्बर राजस्व बुझाउने भौचर नम्बर हो भने रकम भनेको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण बापत तिर्नुपर्ने राजस्व हो ।

-यिनको तल पे नाउ, बैंङ्क भौचर र भेरिफाई पेमेन्ट देखिन्छ । राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा जोडिएका कनेक्ट आईपीएस, खल्ती, ईसेवा अथवा बैंङ्क भौचरमार्फत राजस्व बुझाउन सक्नुहुन्छ ।

-प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाइन फारम सफलतापूर्वक पेश गरेपछि विभागले निवेदन रुजु गर्दा ठीक पाएमा एक दिन भित्रमा काम सम्पन्न हुन्छ । अब त्यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ ।

प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्न निम्न प्रक्रिया अपनाउनुहोस्:

-पुन: विभागको वेबसाइटमा गएर प्रमाणीकरण गर्ने खण्डमा जानुहोस् । अथवा सिधै यहाँ क्लिक गर्नुहोस् ।

-‘डाउनलोड एटेस्टेड पुलिस क्लियरेन्स सर्टिफिकेट’मा क्लिक गर्नुहोस् । 

-अब कन्सुलर सेवा विभागको छाप प्रहरी चारित्रिक प्रमाणपत्रको डिस्प्याच नम्बरभन्दा माथि देखापर्नेछ । यसलाई कलर प्रिन्ट गरेर सम्बन्धित ठाउँमा बुझाउन सकिन्छ ।

यसरी तपाईंले अनलाइबाट नै आफूलाई पायक पर्ने ठाउँमा बसेर प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८० १५:१०