काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) प्रविधि कार्यान्वयनमा नआउने बताएका छन् । कान्तिपुरका अनुसार मङ्गलबार बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले नागरिकको फोन ट्याप गर्ने सहितको प्रविधिको संज्ञा दिंदै त्यसलाई लागू नगर्ने बताएको उल्लेख छ । "उपकरण खरिदमा करोडौं रुपैयाँ खर्च भए पनि त्यो लागू हुँदैन," उनले भनेका छन् ।
तर नियामक दूरसञ्चार प्राधिकरणले भने टेरामोक्सले प्रयोगकर्ताको फोन ट्यापिङ गर्ने नभई सेवा प्रदायकको आम्दानी यकिन गर्न तथा राजस्व छली र भीओआईपी जस्ता गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न अगाडि बढाइएको बताउँदै आएको छ । नियामक प्राधिकरणले टेरामोक्स कार्यान्वयनमा असहयोग गरेको भन्दै नेपाल टेलिकमलाई कारबाही समेत गरेको छ ।
प्रधानमन्त्रीले नै टेरामोक्स प्रविधि कार्यान्वयनमा नआउने बताएपछि ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरिएका सफ्टवेयर तथा हार्डवेयर उपकरणहरू प्रयोग विहीन हुने भएका छन् । यसबाट राज्यको ठूलो लगानी व्यर्थ हुने देखिएको छ ।
प्रधानमन्त्रीको ठाडो हस्तक्षेपबाट टेरामोक्स रोकिएपछि नियामकको स्वायत्ततामाथि समेत प्रश्न उब्जिएको छ ।