close

एआईले तयार पार्ने आर्टमा कपिराइट नलाग्ने !

टेकपाना टेकपाना

भदौ ४, २०८० १२:४३

एआईले तयार पार्ने आर्टमा कपिराइट नलाग्ने !

काठमाडौं । एआईले बनाएका आर्टमा कपिराइट नलाग्ने भएको छ । अमेरिकी जिल्ला अदालतले हालै मात्र यस किसिमको आदेश जारी गरेको हो । 

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । विशेषगरी आर्ट बनाउने, टेक्स्ट तयार पार्ने लगायतका थुप्रै कामका लागि एआईको प्रयोग भइरहेको छ । 

यससँगै एआईले बनाएका आर्ट, तयार पारेको टेक्स्टको प्रतिलिपि अधिकारको प्रश्न पनि उठेको छ । संयुक्त राज्य अमेरिका स्थित एक जिल्ला अदालतकी न्यायाधीशले भने एआईले बनाएका आर्टको कपिराइट (प्रतिलिपि अधिकार) हुन नसक्ने आदेश दिएकी छन् । 

द हलिउड रिपोर्टरका अनुसार गएको शुक्रवार संयुक्त राज्य जिल्ला अदालतकी न्यायाधीश बेरिल ए हवेलले एआईले तयार पारेका कलाकृति (आर्टवर्क) को प्रतिलिपि अधिकार हुन नसक्ने बताएकी हुन् । 

स्टिफन थालर नामका व्यक्तिले आफ्नो क्रियटिभिटी मसिन अल्गोरिदम (न्युरल नेटवर्क फर्म इम्याजिनेसन अल्गोरिदम) ले तयार पारेको एआई-निर्मित तस्वीरको प्रतिलिपि अधिकार पाउनुपर्ने भन्दै अमेरिकी प्रतिलिपि कार्यालयमा उजुरी दिएका थिए ।

उनले आर्टिफिसियल इन्टेलिजेन्सले तयार पारेका कुनै पनि कुराको प्रतिलिपि अधिकार प्रतिलिपि ऐनले संरक्षण गर्नुपर्ने माग गरेका थिए । 

प्रतिलिपि अधिकार ऐनले एआईले सिर्जना गरेका कार्यलाई स्पष्ट रूपमा सम्बोधन नगर्ने भन्दै न्यायाधीश हवेलले स्टिफनको विपक्षमा अदालती निर्णय प्रस्तुत गरेकी छन् । 

हवेलका अनुसार एआईले तयार पारेका कुनै पनि कुराहरू पहिले कसैले गरिसकेको काममा आधारित हुन्छन् । त्यसैले प्रतिलिपि अधिकार संरक्षणका लागि मौलिकता आवश्यकताको बारेमा प्रश्न उठ्न सक्ने उनको तर्क छ ।  

त्यसबाहेक पनि प्रतिलिपि ऐनले मानवद्वारा निर्मित सामग्रीको प्रतिलिपि अधिकार सुरक्षित हुने उनले बताएकी छन् । अमेरिकामा अदालतले यस्तो निर्णय गरेको पहिलो पटक हो । 

त्यसैले यो निर्णयमाथि पुनरावेदन हुने सम्भावना उच्च भएको द भर्जले उल्लेख गरेको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० १२:४३