close

डेढ वर्षपछि एक्समा फर्किए ट्रम्प*

टेकपाना टेकपाना

भदौ ८, २०८० १२:५०

डेढ वर्षपछि एक्समा फर्किए ट्रम्प*

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एक्स (ट्वीटर) मा फर्किएका छन् । जर्जियाको फुल्टन काउन्टी जेलमा खिचिएको आफ्नो 'मग शट' (पक्राउ परेपछि खिचिने फोटो)सहितको फोटो राख्दै बिहीवार उनले एक्समा डेढ वर्षपछि पहिलाे पोस्ट गरेका हुन् ।

फोटोमा ‘Election interference. Never surrender!’ लेख्दै उनले रकम उठाउने आफ्नो वेबसाइटको लिङ्कसमेत राखेका छन् । उनले यही पोस्ट आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथमा पनि गरेका छन् ।

ट्रम्पले प्रतिबन्धका कारण जनवरी ८, २०२१ देखि पोस्ट गर्न पाएका थिएनन् । ट्वीटरकाे तत्कालीन व्यवस्थापनले उनको ट्वीटका कारण यूएस क्यापिटल भवनमा थप हिंसा भड्किने डर भएकाले अनिश्चितकालका लागि अकाउन्ट निलम्बन गरेको थियो ।

एलन मस्कले ट्वीटर आफ्नो बनाएपछि गत नोभेम्बरमा ट्रम्पको अकाउन्ट फुकुवा गरिदिएका थिए ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदमा चुनाव उठ्ने अग्रपंक्तिमा रहेका ट्रम्पले ‘ठीक समयमा’ ट्वीटरमा फर्कने बताएका थिए । जर्जियाको २०२० को चुनावीमा हस्तक्षेप गरेको आरोप खेपिरहेका उनी यो पोस्ट गर्दै एक्समा फर्किएका हुन् ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदमा चुनाव उठ्नेहरूको बहस भइरहँदा ट्रम्प एक्समा फर्किएका छन् । ​ट्रम्पको एक्समा ८ करोड ६६ लाख बढी फलोअर छन् ।

उनी एक्समा फर्केसँगै आगामी दिनमा यसलाई कसरी प्रयोग गर्छन् भनेर धेरैले चासो व्यक्त गरेका छन् ।

सम्भवत: २०२४ मा हुने राष्ट्रपति चुनावको अभियान सुरु गर्न, आफ्नो व्यापार प्रवर्द्धन गर्न वा जनतासँग नजिक हुन उनले एक्स प्रयोग गर्नसक्ने अनुमान गरिएकाे छ । उनी फेसबुकमा भने यसअघि नै फर्किसकेका छन् ।

(*शीर्षकमा ट्रम्प हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.)

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० १५:५२