close

स्याटलाइट कल गर्न सकिने ह्वावे मेट ६० प्रो फोन सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

भदौ १४, २०८० १२:४०

स्याटलाइट कल गर्न सकिने ह्वावे मेट ६० प्रो फोन सार्वजनिक, कति होला मूल्य ?

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले स्याटलाइट कल सुविधा भएको फोन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गर्दै 'मेट ६० प्रो' सार्वजनिक गरेको हो ।

फाेनमा तीन ओटा पन्च होल कटआउट डिजाइन छ, जसमध्ये एउटा सेल्फी क्यामेरा र अरू बाँकी दुई ओटा होल थ्रीडी फेस अनलक सुविधा उपलब्ध गराउन समावेश गरिएको छ ।

याे स्मार्टफाेन स्याटलाइट कलिङ फिचरले थप चर्चित छ । यो त्यस्तो फिचर हो, जसले नेटवर्क नआउने ठाउँमा फोनलाई स्याटलाइटसँग जोडेर कल वा एसएमएसबाट सम्पर्क गर्न सघाउँछ ।

याे फाेन चिनियाँ बजारमा मात्र उपलब्ध हुने कम्पनीले  जनाएकाे छ ।

कस्तो छ ह्वावे मेट ६० प्रो ?

यसमा ६.८२ इन्चको एलटीपीओ ओएलईडी स्क्रिन छ । १२ जीबी र्‍याम र २५६ देखि १ टीबी इन्टर्नल स्टोरेज क्षमता रहेको यो फाेनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । फोनलाई चार्ज गर्न कम्पनीले ८८ वाटको वायर्ड चार्जर र ५० वाटको वायरलेस चार्जर उपलब्ध गराएको छ । ८८ वाटको चार्जरले आधा घण्टामै फोन फूल चार्ज गर्ने कम्पनीको दाबी छ ।

किरिन ९००० एस चिपसेटद्वारा सञ्चालित यो फोन हार्मोनी ओएस ४.० अपरेटिङ सिस्टममा आधारित छ । फोनमा ५० मेगापिक्सेलको मुख्य, ४८ मेगापिक्सेलको पेरिस्कोप र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा छ । सेल्फी पारखीका लागि १३ मेगापिक्सेलको क्यामेरा छ । 

सेन्सरको सन्दर्भमा यो फोनमा फेस आईडी, फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, जाइरो, प्रोक्सिमिटी, ब्यारोमिटर, कम्पास, कलर स्पेक्टोमिटर र बीडीएस स्याटलाइट सेन्सर रहेका छन् ।

चिनियाँ बजारमा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य तोकिएको छैन । ५१२ जीबी भेरियन्टको मूल्य भने ६९९९ युवान (करिब एक लाख २६ हजार रुपैयाँ) तोकिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० १३:५