काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्समा छिट्टै अडियो तथा भिडिओ कल गर्न सकिने फिचर आउने भएको छ । बुधबार एक्समा पोस्ट राख्दै कम्पनीका मालिक एलन मस्कले छिट्टै अडियो तथा भिडिओ कल फिचर ल्याउने घोषणा गरेका हुन् ।
“यसले आईओएस, एन्ड्रोइड, म्याक तथा कम्प्युटरमा काम गर्नेछ,” उनले लेखेका छन्, “यसका लागि फोन नम्बर आवश्यक पर्ने छैन ।”
यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा मस्कले कुनै जानकारी दिएका छैनन् । उनले यसलाई आउँदै छ मात्रै भनेका छन् । एक्समा अडियो तथा भिडिओ कलको सुविधा आउने खबर बाहिरिएको पहिलो पटक भने होइन ।
यसअघि जुलाईमा कम्पनीका डिजाइनर एन्ड्रियु क्यानवेले एक्समार्फत स्क्रिनशट शेयर गरेका थिए । स्क्रिनशटमा मेसेज बक्सको सबैभन्दा माथि दायाँपट्टि कलको अप्सन रहेको देख्न सकिन्छ । जसमा ट्याप गर्दा अडियो र भिडिओ कलको अप्सन आएको स्क्रिनशटमा देख्न सकिन्छ ।
यो फिचर ब्लु सब्स्क्राइबरले मात्र प्रयोग गर्न पाउँछन् वा सबैले प्रयोग गर्न पाउँछन् भन्ने खुलेको छैन ।