काठमाडौं । विश्वकै दिग्गज प्रविधि कम्पनी गुगलले एआईले बनाएका तस्विर पहिचान गर्ने टुल तयार पारेको छ । कुनै पनि तस्विर एआई वा मानिस कसले बनाएको हो भने थाहा पाउन गुगलले सिन्थ आईडी (SynthID) नामक टुल विकास गरेको हो ।
प्रविधिको विकासले कुनै पनि चित्र वा ग्राफिक्स मानिस वा एआई कसले बनाएको भनेर थाहा पाउन मुस्किल बन्दै गइरहेको छ । पछिल्लो समय एआईले बनाएका तस्विर दुरुपयोग गरेर मिथ्या समाचार तथा सूचना फैलाउने, मानिसहरूलाई झुक्याउने लगायतका कार्य हुन थालेका छन् ।
यस्तोमा यो टुलले एआई प्रयोग गरी बनाइएका तस्विरहरूमा एक प्रकारको डिजिटल वाटरमार्क थप्ने गर्छ । जुन अस्पष्ट हुनुका साथै गोप्य हुन्छ ।
त्यसैको आधारमा यस टुलले वास्तविकता थाहा पाउने गुगलले बताएको छ । पछि उक्त तस्विरलाई कसैले परिमार्जन गरे पनि सो वाटरमार्क भने आफ्नो टुलले पहिचान गर्न सक्ने गुगलले जनाएको छ ।
यद्यपि यो टुलले हाल गुगलको इम्याजिन (Imagen) नामक टेक्स्ट टु इमेज टुलबाट तयार पारिएका तस्वीरको वास्तविकता मात्रै पत्ता लगाउने छ । तर गुगलले अन्य कम्पनी वा थर्ड पार्टीलाई यो टुल उपलब्ध गराउने विश्वास गरिएको छ ।