close

यसरी एआईबाट निःशुल्क बनाउनुहोस् आफ्नै नाम भएको क्यारेक्टरको तस्वीर

टेकपाना टेकपाना

कात्तिक ८, २०८० १६:१८

यसरी एआईबाट निःशुल्क बनाउनुहोस् आफ्नै नाम भएको क्यारेक्टरको तस्वीर

काठमाडौं । माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन बिङलाई दिनानुदिन परिष्कृत बनाउँदै गइरहेको छ । सुरुवाती समयमा सर्च इन्जिनका रूपमा मात्र प्रयोग हुने बिङ पछिल्लो समय एआई च्याटबटसँग कुरा गर्न र तस्वीर बनाउन समेत प्रयोग हुँदै आएको छ । अहिले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा एक्समा बिङ एआईले बनाएका तस्वीर निकै रुचाइएको छ ।

विशेषगरी आफ्नै नामको टी-सर्ट लगाएर विभिन्न गेम हेरिरहेको, प्लयेरसँग हात जोडेको, विभिन्न ऐतिहासिक ठाउँमा मानिसहरू रमाएको लगायतका फोटोहरू चर्चित छन् । माइक्रोसफ्टले यसका लागि बिङमा ओपन एआईको निर्माण गरेको ड्याल.ई टुल समावेश गरेको छ । तपाईंले प्रम्प्ट दिन जान्नुभयो भने उक्त एआईले तपाईंले भनेको जस्तै फोटो तयार पारिदिन सक्छ । तर, यसमा फोटो एडिट गर्ने अप्सन भने हुँदैन । भन्नुको अर्थ तपाईंले जे निर्देशन दिनुभयो त्यही अनुसारका फोटो मात्र तयार हुन्छ ।

क्यारेक्टरमा आफ्नो अनुहार राख्छु भन्नु भयो सम्भव नहुन सक्छ । आज हामी उक्त टुल प्रयोग गरेर कसरी स्तरीय तस्वीर बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं । यो टुल माइक्रोसफ्ट एजमा मात्र नभई अन्य ब्राउजर र स्मार्टफोनबाटै पनि प्रयोग गर्न सकिन्छ । अन्य ब्राउजरमा प्रयोग गर्नका लागि यहाँ क्लिक गरी माइक्रोसफ्ट अकाउन्टमार्फत साइनअप गर्नुपर्ने हुन्छ । त्यस्तै एन्ड्रोइडमा यो एप प्रयोग गर्न यहाँ र आईओएसमा प्रयोग गर्नका लागि यहाँ क्लिक गरेर इन्स्टल गर्नुहोस् ।

-माइक्रोसफ्ट एज प्रयोगकर्ताले भने सहजै एज ब्राउजर खोल्नुहोस् ।

-त्यसपछि च्याटबक्स खुल्छ । उक्त च्याटबक्समा गएर आफूले चाहे बमोजिमको निर्देशन दिनुहोस् । (उदाहणका लागि Create a design of a fan shaking hands with Leo Messi on a playground. Fan is wearing an Argentina Jursey with the name 'Hikmat' on the back. Use Argentina blue and white colors to create an energetic design)

- त्यसपछि इन्टर थिच्नुहोस् वा सर्चको आइकनमा ट्याप गर्नुहोस् । त्यसको केही समयपछि नै तपाईंले भने अनुसारको डिजाइन तयार हुन्छ ।

- एक पटक तयार भइसकेको तस्वीरमा तपाईंलाई केही कुरा चित्त बुझेको छैन भने पुनः निर्देशन दिन सक्नुहुन्छ । उदाहरणका लागि माथिको प्रम्प्ट दिइसकेपछि तयार भएको तस्वीरलाई केही आकर्षक बनाउन छ भने Can you add a football in the design? जस्तो प्रम्प्ट दिन सक्नुहुन्छ ।)

यसरी आफ्नो प्रम्प बमोजिमकै आकर्षक फोटो बनाउन 'बिङ इमेज क्रियटर' प्रयोग गर्न सकिन्छ । पछिल्लो समय यो प्लेटफर्मलाई लोगो बनाउन, आकर्षक डिजाइनको टेम्प्लेट फेला पार्न लगायतका कामका लागि प्रयोग गरिंदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८० १६:२०