काठमाडौं । विद्युतीय सवारी बीवाईडी सिल र बीवाईडी डल्फिनले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अस्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनक्याप) ले आयोजना गरेको सवारी साधनको सुरक्षा परीक्षण कार्यक्रममा बीवाईडीका यी दुई विद्युतीय मोडेलले फाइभ स्टार सेफ्टी रेटिङ पाएका हुन् ।
अस्ट्रेलियाको एएनक्याप र न्युजिल्यान्डको इन्डिपेन्डेन्स भ्वाइस अन भेहिकल संस्थाले गरेको सुरक्षा परीक्षणमा यी दुई मोडेलले सो रेटिङ पाएको कम्पनीले जनाएको छ । फाइभ स्टार रेटिङ पाउन सबै किसिमका परीक्षण र फिचर एड्भान्स्ड सेफ्टी असिस्ट टेक्नोलोजी (सुविधायुक्त अत्याधुनिक सुरक्षा सहायता प्रविधि)को मापदण्ड पूरा गरेको हुनुपर्ने थियो ।
एएनक्यापको रिपोर्ट अनुसार बीवाईडी सिलले ड्राइभरको सुरक्षाका लागि अब्लिक पोल टेस्ट (ड्राइभरको डमी गाडीभित्र राखेर उक्त साइडलाई पोलमा ठोक्काएर गरिने परीक्षण) र बालबालिकाको सुरक्षाका लागि साइड इम्प्याक्ट टेस्ट (पेसेन्सर रहेको साइड पोलमा ठोक्याएर गरिने परीक्षण) मा पूरा अङ्क पाएको थियो ।
त्यस्तै वयस्क यात्रु सुरक्षाका सन्दर्भमा ८९ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बालबालिकाको डमीलाई सिटमा राखेर गाडी अगाडिपट्टिको भागबाट ठोक्काएर गरिने परीक्षण) मा ८७ प्रतिशत, भल्नेरेबल रोड युजर प्रोटेक्सन (खराब बाटोमा यात्रु सुरक्षित हुन्छन् कि हुँदैनन् भनेर गरिने परीक्षण) मा ८२ प्रतिशत र सेफ्टी असिस्टेन्समा ७५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
यता बीवाईडी डल्फिनले भने बालबालिकाको डमीअगाडि र पछाडिपट्टि राखी गाडी ठोक्याएर गरिने सुरक्षा परीक्षणमा उच्चतम् अङ्क प्राप्त गरेको कम्पनीले उल्लेख गरेको छ ।
त्यस्तै २०२३ मा परीक्षण गरिएका सबै सवारीमध्ये प्रोटेक्सन अफ भलनेरेबल रोड युजरमा सो मोडेलले सबैभन्दा बढी अर्थात ८५ प्रतिशत अङ्क प्राप्त गरेको कम्पनीको भनाइ छ ।
यी मोडेलमा रहेको अटोनोमस इमर्जेन्सी ब्रेकिङ (एईबी) हेड-अन सिस्टमले पनि आकर्षक प्रदर्शन गरेको कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी यी मोडेलमा एएनक्यापको मापदण्डभित्र रहेको 'डोर ओपनिङ' फङ्सनालिटी समेत उपलब्ध छ ।
यो त्यस्तो प्रविधि हो जसले गाडी पानीमा खसेको बेला दुई मिनेटसम्म ढोका अनलक गरेर राख्छ । यस्तो आपतकालीन अवस्थामा यात्रु पानीबाट बाहिर निस्केर बाँच्न सक्छन् ।
यसअघि बीवाईडीका यी दुवै मोडेलले युरो एनक्यापबाट पनि फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेका थिए । ई-प्लेटफर्म ३.० र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम भएको बीवाईडी डल्फिन हालै मात्र नेपालमा सार्वजनिक भएको थियो ।