close

प्ले स्टोरमा हरेक एप डाउनलोडबाट गुगलले कमाउँछ १०५ रुपैयाँ !

टेकपाना टेकपाना

मंसिर १४, २०८० ९:३३

प्ले स्टोरमा हरेक एप डाउनलोडबाट गुगलले कमाउँछ १०५ रुपैयाँ !

काठमाडौं । प्रयोगकर्ताले प्ले स्टोरमा कुनै एप एक पटक डाउनलोड गर्दा गुगलले ७९ सेन्ट्स (करिब १०५ रुपैयाँ) कमाउने तथ्य बाहिरिएको छ । अर्थशास्त्री डग बर्नहेमले भर्जसँगको कुराकानीका क्रममा गुगलले सन् २०२१ मा प्ले स्टोरमा एप डाउनलोड गर्दा ‍त्यति कमाइ गरेको दाबी गरेका हुन् ।

‍द भर्जकी पत्रकार सेन होलिस्टरले एपिक गेम्स र गुगलबीच चलिरहेको मुद्दाको सेरोफेरोमा अर्थशास्त्री ‍बर्नहेमसँग अन्तर्वाता लिएकी थिइन् । कुराकानीमा अर्थशास्त्री ‍बर्नहेमले एप डाउनलोडतर्फ गुगलको नाफा २०१५ को तुलनामा पाँच गुणाले वृद्धि भएको उल्लेख गरे । नाफा वृद्धिले गर्दा प्ले स्टोरमा गुगलको एकाधिकार जमिरहेको अर्थशास्त्री बर्नहमले जनाएका छन् ।

त्यस्तै हरेक वर्ष प्ले स्टोरमा गुगलको कमाइ बढिरहेको उनले दाबी गरेका छन् । उनका अनुसार गुगलले प्ले स्टोरमा प्रति डाउनलोडबाट २०२० मा ६१ सेन्ट्स, २०१९ मा ४६ सेन्ट्स र २०१८ मा ३५ सेन्ट्स कमाएको थियो । त्यस्तै २०१७ मा २६ सेन्ट्स, २०१६ मा १९ सेन्ट्स र २०१५ मा १५ सेन्ट्स कमाएको थियो ।

हाल एपिक गेम्स र गुगलबीच इन-एप पर्चेजमा गुगलले लिने ३० प्रतिशत कमिसन लगायतका विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० ९:३३