close

अन्ततः एलन मस्कले सार्वजनिक गरे टेस्ला साइबर ट्रक, के-के छन् फिचर ?

टेकपाना टेकपाना

मंसिर १५, २०८० १२:५४

अन्ततः एलन मस्कले सार्वजनिक गरे टेस्ला साइबर ट्रक, के-के छन् फिचर ?

काठमाडौं । एलन मस्कले टेस्ला साइबर ट्रक सार्वजनिक गरेका छन् । बिहीवार टेक्ससस्थित कम्पनीको मुख्यालयमा कार्यक्रम आयोजना गर्दै टेस्ला साइबर ट्रक औपचारिक रूपमा सार्वजनिक गरिएको हो । 

मस्कले साइबर ट्रकका लागि प्रतीक्षा सूचीमा १० लाखभन्दा बढी ग्राहकहरू रहेको बताए । तर, उनले मूल्य निर्धारण वा कम्पनीको उत्पादन लक्ष्यहरू स्पष्ट पारेका छैनन् ।

कार्यक्रममा साइबर ट्रकले पोर्स ९११ (Porsche 911) लाई हराएको दृश्य देखाइएको थियो । टेस्लाले यो गाडी सार्वजनिक गरेको पहिलो पटक भने होइन । यसअघि सन् २०१९ मा सार्वजनिक गरेर २०२१ मा वितरण गर्ने तयारी गरेको थियो ।

तर, बीचमा कोभिड भएपछि कम्पनीले वितरण गर्ने मिति २०२२ का लागि तय गरेको थियो । त्यसपछि पनि विविध चुनौती थपिएपछि कम्पनीले एक वर्ष लम्ब्याएर २०२३ मा सार्वजनिक गरेको हो । 

कस्तो छ साइबर ट्रक ?

सामाजिक सञ्जाल एक्समा टेस्ला साइबर ट्रकको चर्चा बढी थियो । विशेषगरी मस्कले बुलेट प्रुफ परीक्षण गरेको भिडिओ एक्समा राखेका थिए । यो गाडीको नर्मल भेरियन्टले अपेक्षित रेञ्ज २५० माइल्स (४०० किलोमिटर) रहेको कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै ‘अल ह्वील ड्राइभ’ र ‘साइबर बिस्ट’ भेरियन्टले क्रमशः ३४० माइल्स (५४७ किलोमिटर) र ३२० माइल्स (५१४ किलोमिटर) रेञ्ज दिने कम्पनीको दाबी छ । 

मस्कले यो गाडी लामो यात्राका लागि र हेभी ट्राली बोक्न सक्ने उल्लेख गरेका छन् । 

टेस्ला साइबर ट्रकको टप लाइन ‘साइबर बिस्ट’ ले शून्यदेखि ६० माइल्स (०- १००किलोमिटर) को गति २.६ सेकेन्डमा पकड्न सक्छ । यो गति अन्य स्पोर्टिङ कारको तुलनामा स्तरीय गति हो । 

साइबर ट्रक स्टेनलेस स्टिल बडी भएको अमेरिकाकै पहिलो गाडी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै यो गाडीमा आर्मर ग्लास (Armor Glass) राखिएको छ जो ७० माइल्स प्रति घण्टाको गति बेसबले हान्दा पनि नफुट्ने कम्पनीको दाबी छ ।

मस्कले यो ट्रकको ढोका बुलेटप्रुफ रहेको जनाएको छन् । यसले ४५ क्यालिबर र ९ मिमिमिटर राउन्डको गोली रोक्न सक्ने उनले उल्लेख गरेका छन् । 

२०२५ सम्म उपलब्ध हुने टेस्ला साइबर ट्रकको बेस आरडब्लुडी मोलेलको सुरुवाती मूल्य ६० हजार ९९० डलर (करिब ८१ लाख रुपैयाँ) पर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै २०२४ देखि उपलब्ध हुने ‘अल ह्वील ड्राइभ’ मोडेल ७९ हजार ९९० डलर (एक करोड छ लाख) र आगामी वर्ष नै उपलब्ध हुने साइबर बिस्ट मोडेलको मूल्य ९९ हजार ९९० डलर (करिब एक करोड ३२ लाख रुपैयाँ) पर्ने अपेक्षा गरिएको छ । ब्याट्री कति क्षमताको हुन्छ भन्ने स्पष्ट जानकारी आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८० १६:२