close

बेलायती कम्पनी स्पेक्ट्रलाइटले साढे ६ अर्बमा किन्यो एनसेल, कम्पनीको कूल मूल्य भने अनिश्चित

टेकपाना टेकपाना

मंसिर १५, २०८० १८:२४

बेलायती कम्पनी स्पेक्ट्रलाइटले साढे ६ अर्बमा किन्यो एनसेल,  कम्पनीको कूल मूल्य भने अनिश्चित

काठमाडौं । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर बेलायती कम्पनी स्पक्टरलाइट यूके लिमिटेडसँग बिक्री गर्ने निश्चित भएको छ । कम्पनीले रेनोल्ड होल्डिङ लिमिटेडको नाममा एनसेलमा रहेको करिब ८० प्रतिशत विदेशी लगानी बिक्री गर्ने सम्झौता सम्पन्न गरेको हो । 

आजियाटा र स्पेक्ट्रलाइटबीच भएको शेयर खरिद सम्झौता अनुसार निश्चित मूल्य (फिक्स्ड कन्सिडरेसन) र सर्तमा आधारित मूल्य (कन्डिसनल कन्सिडरेसन) गरी दुई चरणमा कारोबार हुने उल्लेख छ । 

निश्चित मूल्यको रूपमा स्पेक्ट्रलाइटले कारोबार सम्पन्न भएको छ महिनाभित्र आजियाटालाई पाँच करोड अमेरिकी डलर (करिब छ अर्ब ६५ करोड ७० लाख ) मध्ये ५० लाख अमेरिकी डलर भुक्तानी गर्नेछ । बाँकी रकम भने ४८ महिना अर्थात् चार वर्षको अवधिमा तिर्नेगरी खरिद सम्झौता भएको उल्लेख छ । 

कन्डिसनल कन्सिडरेसन अन्तर्गतको भुक्तानी भने एनसेलले आगामी दिनमा गर्ने व्यवसाय तथा नाफामा आधारित हुने बताइएको छ । जुन एनसेलले सन् २०२९ मा घोषणा गर्ने उल्लेख छ । तर त्यसको हिस्सेदारी भने खुलाइएको छैन । 

आजियाटाका अनुसार व्यवसाय र दायित्वको सम्पूर्ण जिम्मा एनसेलमा रहने र विद्यमान तथा आगामी दिनमा नेपालले एनसेलसँग यससम्बन्धी कर दाबी गर्दा त्यसको आजियाटातर्फको क्षतिपूर्ति स्पेक्ट्रलाइटले ब्यहोर्ने भनिएको छ । 

यसलाई आजियाटाको बोर्डले नेपालबाट बाहिरिने सबैभन्दा उचित मार्ग ठहर्‍याएको छ । आजियाटाका सीईओ तथा प्रबन्ध निर्देशक विवेक सुदले भनेका छन्, "आजियाटा नेपालमा एनसेलका मेहनती सहकर्मीको साथ विगत सात वर्षदेखि रहिआएको छ । यद्यपि व्यवसाय सञ्चालनमा बढ्दै गएको चुनौतीका कारण यस किसिमको परिस्थिति निम्तिएको हो ।" 

व्यवसायका लागि अनुकूल वातावरण नरहेको भन्दै आजियाटाले केही दिन अघि मात्र नेपालबाट बाहिरिने निर्णय गरेको थियो । उसले नेपालको अनुचित कर प्रणाली र नियामकीय अनिश्चितताका कारण व्यवसाय दिगो रूपमा सञ्चालन गर्न नसकिएको निश्कर्ष निकालेको छ । 

आजियाटाले स्विडेनको टेलिया सोनेराबाट सन् २०१६ मा एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत हिस्सेदारी रहेको रेनोल्ड होल्डिङको शत प्रतिशत शेयर खरिद गरेको थियो । सन् २०१६ देखि २०२० को अवधिमा एनसेलले कूल ४७ अर्ब चुक्ता गर्दै लाभकर विवाद टुङ्ग्याएको थियो । 

उक्त लाभकर चुक्ता गरे पनि जनवरी २०२१ मा ठूला कर दाता कार्यालयले आयकर ऐनको दफा ५७ अन्तर्गत सोही कारोबारका लागि कूल ५७ अर्ब ९० रुपैयाँ दायित्व यकिन गरेको थियो । उक्त कर आफूले तिर्नु नपर्ने दाबी गर्दै नेपाल सरकार विरुद्ध आजियाटा अन्तर्राष्ट्रिय अदालत गएको भए पनि त्यहाँबाट समेत पराजित भएको थियो । 

एनसेलमा नेपाली लगानीकर्ताको रूपमा शतिशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको २० प्रतिशत लगानी रहेको छ । अहिले आजियाटाको नाममा रहेको ८० प्रतिशत विदेशी लगानी खरिद गर्ने बेलायती कम्पनी स्पेक्ट्रलाइट समेत शतिशलालकै रहेको चर्चा छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८० १८:४३