close

भारतमा १० करोड पुगे फाइभजी प्रयोगकर्ता

टेकपाना टेकपाना

मंसिर २२, २०८० १३:५६

भारतमा १० करोड पुगे फाइभजी प्रयोगकर्ता

काठमाडौं । भारतमा ७३८ जिल्लामा माेबाइल सेवाको पछिल्लो प्रविधि फाइभजी पुगेको र करिब १० करोड प्रयोगकर्ताहरू रहेको त्यहाँका केन्द्रीय सरकारका सञ्चार  राज्यमन्त्री देवुसिंह चौहानले बताएका छन् । बुधबार लोकसभा बैठकमा बोल्दै मन्त्री चौहानले नोभेम्बर २०२३ सम्ममा भारतले यो आँकडा पार गरेको बताएका हुन् ।

मन्त्री चौहानका अनुसार यसका लागि भारतले तीन लाख ९४ हजार २९८ फाइभजी बेस स्टेसन तयार पारिसकेको छ । प्रतिस्पर्धा, लगानी र उपभोक्ता संरक्षणलाई प्रवर्द्धन गर्न विगत केही वर्षमा भारतले गरेका विभिन्न संरचनागत तथा प्रक्रियागत सुधारका कारण यो सफलता हात पारेको उनले सुनाए ।

त्यस्तै फाइभजी विस्तारका लागि दूरसञ्चार सेवा प्रदायकहरूले स्पेक्ट्रम अधिग्रहण गर्न डेढ लाख करोड भारु र लगानी गर्न दुई लाख करोड भारुको प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

भारतले गत आर्थिक वर्ष २०२२-२३ मा मात्रै टेलिकम क्षेत्रबाट पहिलो पटक तीन लाख करोड भारु राजस्व उठाएको थियो । साथै सडक पूर्वाधारमा फाइभजी टावर र फाइबर केबल जडान गर्ने काम छिटो र सस्तो बनाउने गरी भारतले कानून परिवर्तन गरेको पनि मन्त्री चौहानले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १४:२४