close

एक्समा पनि अब लाइभ भिडिओ कुराकानी गर्न सकिने

टेकपाना टेकपाना

पुस ३, २०८० ९:४४

एक्समा पनि अब लाइभ भिडिओ कुराकानी गर्न सकिने

काठमाडौं  । सामाजिक सञ्जाल एक्सको स्पेसमा भिडिओ फिचर थप हुने भएको छ । कम्पनीका मालिक एलन मस्कले सो प्लेटफर्ममा चाँडै नै उक्त फिचर आउने जानकारी दिएका हुन् ।

एक्समा स्पेस भनेको लाइभ कुराकानी गर्न सकिने फिचर हो, जसमा सो प्लेटफर्मका कुनै पनि प्रयोगकर्ता जोडिन सक्छन् । यसअघि सो प्लेटफर्ममा अडियोमार्फत कुराकानी गर्न सकिने सुविधा थियो । भिडिओ फिचर समावेश भएसँगै अब स्पेसमा प्रयोगकर्ता भिडिओबाटै जोडिन सक्नेछन् ।

“हामी अहिले स्पेसमा भिडिओ फिचर समावेश गर्ने काम गरिरहेका छौं,” मस्कले भनेका छन्, “यो एउटा सामान्य कुरा हो, जसमा तपाईं भिडिओ अन र अफ गर्न सक्नुहुन्छ ।”

मस्कले २०२३ को अन्तिमतिर यो फिचर सार्वजनिक गर्ने तयारी भइरहेको भने पनि २०२४ को सुरुवातमा उपलब्ध हुने अनुमान छ । 

स्पेस सेसनमा जो व्यक्ति बोलिरहेको छ, भिडिओ फिड त्यही व्यक्तिकोमा स्विच हुन्छ । उदाहरणका लागि जसरी गुगल मिटमा जो प्रयोगकर्ता बोलिरहेको हुन्छ, ठूलो स्क्रिनमा उसैको भिडिओ देखिन्छ । एक्समा पनि उक्त फिचरले यसरी नै काम गर्ने अपेक्षा गरिएको छ । 

“मानिसहरूले बोलिरहेका बेला उनीहरूको शरीरको हाउभाउ देख्नका लागि यो फिचर उपयोगी हुन्छ । यदि उनीहरूले चाहने हो भने आवाजभन्दा अनुहार र शरीरको हाउभाउले बढी सूचना दिन्छ,” मस्कले भनेका छन् । 

अडियन्ससँग अन्तर्क्रिया गर्न यो फिचरले थप सघाउ पुर्‍याउने कम्पनीको विश्वास छ । कोभिड-१९ महामारीको समयमा उदाएको अडियो स्ट्रिमिङ प्लेटफर्म क्लबहाउससँग प्रतिस्पर्धा गर्न ट्वीटरले स्पेस फिचर सार्वजनिक गरको थियो ।

मस्कले ट्वीटरको स्वामित्व लगिसकेपछि स्पेसमा खासै परिवर्तन गरेका थिएनन् । अहिले भने सोही फिचरलाई चर्चामा ल्याउन उनले भिडिओ फिचर सार्वजनिक गर्न लागेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८० ९:५०