close

भारतीय नागरिकले नेपाल प्रहरीका हवल्दारलाई कुटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल

टेकपाना टेकपाना

पुस ५, २०८० १८:१

भारतीय नागरिकले नेपाल प्रहरीका हवल्दारलाई कुटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । बुधबारदेखि फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा केही व्यक्तिले प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ शेयर भइरहेकाे छ । भिडिओमा चार जनाले एक प्रहरीको कठालो समातेको देख्न सकिन्छ ।

भिडिओ भाइरल भएपछि ती प्रहरी को होलान्, उनीमाथि किन दुर्व्यवहार भएकाे हाेला, दुर्व्यवहार गर्ने को हुन्, उनीहरूमाथि कारबाही भयाे कि भएन भन्ने विषयमा थुप्रै प्रश्न प्रश्नहरू उठेका छन् ।

यसबारे हामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक प्रकाश डाँगीलाई सम्पर्क गरेका थियौं । डाँगीका अनुसार भिडिओमा देखिएका प्रहरी हवल्दार विष्णु भुल हुन् । उनी प्रहरी चौकी डोकेबजारमा कार्यरत छन् ।

मङ्गलवार प्रहरी हवल्दार भुल आफ्नो व्यक्तिगत कामले कञ्चनपुर पारी नेपाल-भारत सीमाको बजार गौरिफन्टा गएका थिए । त्यही क्रममा स्थानीयसँग व्यक्तिगत कुरामा विवाद हुँदा उनीमाथि दुर्व्यवहार भएकाे थियाे ।

"भारतीय भूमि भएकाले हामीले भारतीय प्रहरीलाई सम्पर्क गरेका छौं," डाँगीले टेकपानासँग कुरा गर्दै भने, "एक जनालाई नियन्त्रणमा लिइएको छ । भारतीय भूमिमा  दुर्व्यवहारकाे घटना भएकाले उतै (भारत) को कानून अनुसार उनीहरूलाई कारवाही हुन्छ ।"

भिडिओमा जति दुर्व्यवहार भएकाे देखिएकाे छ, वास्तविकतामा पनि त्यति नै भएको र प्रहरी हवल्दार भुललाई कुनै चोटपटक नलागेको डाँगीले बताए । "सामान्य तानातान मात्र भएको हो । त्यसैले उहाँले केही भन्नु भएन । भिडिओ भाइरल भएपछि हामीकहाँ जानकारी आयो । हामीले भारतीय प्रहरीलाई फोन गरेर कानूनी प्रक्रिया अगाडि बढाएका छौं," डाँगीले भने ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८० १८:१