close

बजेट अभावले लाइसेन्स नवीकरण हुन नसक्दा नेपाल सरकारका वेबसाइटमा डिडस आक्रमण

टेकपाना टेकपाना

पुस १६, २०८० १४:११

बजेट अभावले लाइसेन्स नवीकरण हुन नसक्दा नेपाल सरकारका वेबसाइटमा डिडस आक्रमण

काठमाडौं । डीएनएस सर्भमा डीडोस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस ) अट्याक आएकाले सरकारी वेबसाइट नखुलेको पाइएको छ । सोमवार बिहान १० बजेदेखि सरकारी साइटहरू प्रभावित भएका हुन् ।

टेकपानासँग कुरा गर्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले डीएनएस सर्भरमा डिडस अट्याक आउँदा सरकारी वेबसाइट प्रभावित भएको जानकारी दिए ।

"डीएनएस सर्भरमा डिडस अट्याक आउँदा साइटहरू प्रभावित भएको देखिन्छ," चौहानले भने, "कुनै आईपीबाट साइटहरू चलिरहेका छन् भने कुनै कुनैबाट चलेका छैनन् ।"

डीएनएस रिजल्भ नभएर विभिन्न इन्टरनेट नेटवर्कमा साइट नचलेको उनले सुनाए । चौहानका अनुसार केही देशका लागि डीएनएस रिजल्भ भइसकेको छ भने अन्य केही देशमा रिजल्भ हुन बाँकी छ ।

"हाम्रो सिस्टममा धेरै ट्राफिक आयो । यसबाट डिडस आक्रमणको लक्षण देखियो । त्यसलाई हाम्रो क्षमताले भ्याएसम्म ब्लक पनि गरिरहेका छौं । तर, हाम्रा डिभाइसहरू जति अपडेटेड राख्नुपर्थ्यो, अपडेट गर्नुपर्ने काममा कतिपय डिभाइस अपडेट भएका छैनन् ।"

डिडस अट्याक भनेको कसैले वेबसाइटलाई प्रभावित पार्ने उद्देश्यले साइटमा अत्यधिक ट्राफिकको बाढी ल्याउन गर्ने आक्रमण हो । कार्यालयमा भएका सुरक्षा उपकरणलाई समयमै अपडेट गर्न नसक्दा यस्तो समस्या आएको चौहानले सुनाए ।

"हामीले कतिपय सुरक्षा उपकरणको सपोर्ट म्यानुफ्याक्चर कम्पनीबाट लिनुपर्ने हुन्छ । त्यो लाइसेन्स बजेट अभावले नवीकरण नभएकाले सपोर्ट पनि लिन सकेका छैनौं," उनले भने ।

कुनै आईएसपीबाट साइट नखुलेको भए पनि मोबाइल डेटाबाट खुलिरहेको र क्रमशः अन्य सबै इन्टरनेटबाट साइट खुल्ने चौहानको भनाइ छ । यद्यपि धेरै ट्राफिक आउने साइट भने मोबाइल डेटा र इन्टरनेट दुवैबाट खुलिरहेका छैनन् ।

आइतवार पनि डीएनएस सर्भरमा समस्या आउँदा सरकारी वेबसाइट  झन्डै चार घण्टा प्रभावित भएका थिए ।

 

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १४:११