close

स्कुलको आईसीटी ल्याबमा रहेका सबै कम्प्युटरहरू चोरी

टेकपाना टेकपाना

पुस २५, २०८० १६:१२

स्कुलको आईसीटी ल्याबमा रहेका सबै कम्प्युटरहरू चोरी

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अवस्थित एउटा विद्यालयका कम्प्युटरहरू चोरी भएको छ । मैवाखोला गाउँपालिका वडा-५ मा रहेको पाटीडाँडा माध्यमिक विद्यालयकाे आईसीटी ल्याबमा रहेका कम्प्युटरहरू गत सोमवार चोरी भएको हो ।

विद्यालयका प्रधानाध्यापक गोपाल ठकुरीका अनुसार आईसीटी ल्याबमा रहेका ल्यापटप र डेस्कटप कम्प्युटर राति चोरी भएको हो । चोरी गर्ने व्यक्तिले कोठाको ताला फुटाएर कम्प्युटरसहितका उपकरण लगेको उनले बताए ।

“विद्यालय गाउँभन्दा अलि पर अवस्थित छ । नजिकै घरहरू छैनन् । रातको समयमा ल्याबमा आएर चोरी गरेका रहेछन्,” टेकपानासँग कुरा गर्दै उनले भने, “चोरी गर्नेले ल्याबबाट १२ ओटा ल्यापटप, चार ओटा डेस्कटप कम्प्युटर र तिनका चार्जर तथा मल्टिप्लग लगेका छन् । सबै गरेर १३ लाख रुपैयाँ बराबरको उपकरण चोरी भएको छ ।”

विद्यालयमा चोरी भएको थाहा पाएलगत्तै प्रहरीलाई उक्त कुराको जानकारी गराएको प्रधानाध्यापक ठकुरीले बताए । अहिले घटनामा संलग्न व्यक्ति अज्ञात रहेको र प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले जनाए । विद्यालयलाई उक्त आईसीटी ल्याब ह्युमन प्राक्टिस फाउण्डेसन (एचपीएफ) ले तयार पारिदिएको थियाे ।

पछिल्लो अध्यावधिक: पुस २५, २०८० १६:१२