close

नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न ‘कहाँ’ एप सार्वजनिक

टेकपाना टेकपाना

माघ १, २०८० ९:५७

नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न ‘कहाँ’ एप सार्वजनिक

 

काठमाडौं । नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण तथा प्रवर्द्धन गर्न नेपाली प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजीले ‘सम्पदा परियोजना’ सुरु गरेको छ । शुक्रवारबाट 'कहाँ' नामक एप सञ्चालनमा ल्याउँदै कम्पनीले ‘सम्पदा परियोजना’ सुरु गरेको हो ।

कम्पनीका बिजनेस डेभलपमेन्ट डिरेक्टर अङ्कित अर्यालका अनुसार यो परियोजना एप भित्र फिचरको रूपमा उपलब्ध हुनेछ । यस परियोजनालाई कम्पनीले भने आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुरु गरेको उनको भनाइ छ  । 

यो परियोजनाले नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप पहिचान दिन सहयोग गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण क्षेत्रीले बताए । यसका लागि कम्पनीले स्थानीय सरकार, स्थानीय तथा सामुदायिक सङ्घसंस्थाहरूसँगको सहकार्यमा यो परियोजना सञ्चालन गर्ने उनले जनाए । 

अर्थात् यो एप समुदायमा आधारित भएर चल्ने बताइएको छ । यसो हुँदा एपमा रहेको ‘सम्पदा परियोजना’ मा गएर जोकोहीले आफ्नो नजिकै रहेको धार्मिक तथा सांस्कृतिक सम्पदाको फोटो, भिडिओ तथा टेक्स्ट राख्न सक्नेछन् । 

तर प्रयोगकर्ताले सम्पदाबारे राख्ने जानकारी भने आधिकारिक रूपमा पुष्टि गरिने कम्पनीले स्पष्ट पारेको छ । त्यस्ता सूचना नेपाली, अङ्ग्रेजीसँगै अन्य भाषामा उपलब्ध हुनेछन् । 

जसलाई एपबाटै सुन्न पनि सकिने छ । साथै एपबाटै ती सूचनाको क्यूआर तयार पार्न सकिने र त्यसबाट सजिलै सूचनामा पहुँच पाउन सकिने बताइएको छ । 

यसबाहेक सम्पदाको फोटो, भिडिओ तथा त्यस ठाउँलाई एपबाटै ३६० डिग्री भ्यु (चारै तर्फबाट) हेर्न सकिन्छ । त्यस्तै एपमा रहेको च्याट फिचर प्रयोग गरेर प्रयोगकर्ताले त्यहाँको स्थानीयतासँग सम्बन्ध बनाउन र अन्तरक्रिया गर्न सक्छन् । 

साथै एपको लोकेसन शेयरिङ तथा नेभिगेसनबाट सम्पदा क्षेत्र पत्ता लगाउन र त्यहाँसम्म पुग्न सकिन्छ । हाल मसोभिसनले गुग  प्ले स्टोरमा यो एप उपलब्ध गराइसकेको छ । आईओएसमा भने चाँडै उपलब्ध हुने उसले बताएको छ । 

सन् २०१० देखि सञ्चालनमा रहेको मसोभिसनले सप्टवेयर डेभलपमेन्ट तथा वेब डेभलपमेन्टको काम गर्दै आइरहेको छ । ​एपबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: माघ १, २०८० १०:२५