close

आईओई पूर्वाञ्चलमा नेपालमै पहिलो पल्ट हावर्ड युनिभर्सिटीको कोर्स नि:शुल्क पढाइँदै

टेकपाना टेकपाना

माघ १, २०८० १९:३५

आईओई पूर्वाञ्चलमा नेपालमै पहिलो पल्ट हावर्ड युनिभर्सिटीको कोर्स नि:शुल्क पढाइँदै

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पूर्वाञ्चल क्याम्पसमा 'सीएस ५०' (CS50) कोर्स पढाइ हुने भएको छ । ‘सीएस५० एक्स नेपाल’ले देशमै पहिलो पटक यो कोर्स नि:शुल्क रूपमा सञ्चालन गर्न लागेको हो । 

कम्प्युटर साइन्सबारे हावर्ड र येल युनिभर्सिटीमा सिकाइने १० हप्ताको परिचयात्मक कोर्सलाई 'सीएस ५०' भन्ने गरिन्छ । 'सीएस ५०' लाई ओपन कोर्स वेयर (ओसीडब्लू) को नामले समेत चिनिन्छ । किनकी निःशुल्क शैक्षिक सामग्रीको रूपमा विश्वविद्यालयले डिजिटल प्लेटफर्ममा 'सीएस ५०' उपलब्ध गराएको छ । 

यस बाहेक यही कोर्सलाई विश्वविद्यालयको अनुमति लिएर विभिन्न शैक्षिक संस्थाहरूले आफू अनुकूल चलाइरहेका हुन्छन् । सोही प्रकारले यो कोर्स पूर्वाञ्चल क्याम्पस आईओईमा सञ्चालन हुन लागेको हो ।

क्याम्पसमा यो कोर्स विद्यार्थीको संस्था इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ स्टुडेन्ट सोसाइटी (एक्सेस) ले सञ्चालन गर्नेछ । यो कोर्स पनि एक्सेसको पहलमा नै सुरु हुन लागेको ‘सीएस५० एक्स नेपाल’का संयोजक तथा संस्थाका अध्यक्ष सुरज भट्टराईले बताए । 

“हामी मध्ये केहीले पहिल्यै 'सीएस ५०' को कोर्स लिएका थियौं । कोर्स निकै उपयोगी छ । अनि अरू विद्यार्थीलाई पनि किन नसिकाउने भनेर हामीले पहल थालेका हौं,” उनले भने ।

पूर्वाञ्चल क्याम्पसका प्रमुख काज‍िराम कार्कीका अनुसार यो कोर्स एक्सेसका विद्यार्थीहरूले नयाँ विद्यार्थीहरूका लागि सञ्चालन गर्ने छन् । यसका लागि आफूहरूले विद्यार्थी समूहलाई सहजीकरण गरिदिने उनले बताए । 

साथै यो कोर्सले विद्यार्थीहरूको पढाइमा महत्त्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ । २ माघबाट पढ्न आउने नयाँ विद्यार्थीहरूलाई लक्षित गरेर 'सीएस ५०' को नि:शुल्क कक्षा सञ्चालन हुने संयोजक भट्टराईले सुनाए । 

यो कोर्स अध्ययन गर्न चाहने विद्यार्थीको पृष्ठभूमि भने कम्प्युटर साइन्स हुनुपर्ने उनको भनाइ छ । पहिलो पटक 'सीएस ५०' को कक्षामा अधिकतम ३० जना विद्यार्थीलाई पढाउने लक्ष्य रहेको छ । 

त्यस्तै कोर्सका दौरान गर्नु पर्ने विभिन्न शैक्षिक गतिविधिहरू एक्सेससँग सहकार्य गरेर सञ्चालन हुने पनि उनले उल्लेख गरे । क्याम्पसमा 'सीएस ५०' कोर्स भट्टराई लगायत पहिल्यै यो कोर्स लिएकाहरूले पढाउने छन् । 

'सीएस ५०' बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् र 'सीएस ५० एक्स नेपाल' बारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १, २०८० १९:३५