close

‘छोरीले बेटिङ एपबाट दैनिक २ लाख कमाइरहेको’ भन्ने सचिन तेन्दुलकरको भिडिओ नक्कली

टेकपाना टेकपाना

माघ २, २०८० १३:२५

‘छोरीले बेटिङ एपबाट दैनिक २ लाख कमाइरहेको’ भन्ने सचिन तेन्दुलकरको भिडिओ नक्कली

 

काठमाडौं । भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर पनि डिपफेक भिडिओको शिकार भएका छन् । हालै स्क्यामरले उनको डिपफेक भिडिओ प्रयोग गरेर बेटिङ एपको प्रचार भइरहेको घटना बाहिर आएको छ ।

बेटिङ एप ‘स्काइवार्ड एभियटर क्वेस्ट’को प्रचारका लागि तेन्दुलकरको डिपफेक भिडिओ बनाएर दुरुपयोग गरिएको हो । इन्टरनेटमा उक्त भिडिओको चर्को आलोचना भएपछि तेन्दुलकरले सामाजिक सञ्जालमा सो भिडिओ डिपफेक प्रविधि प्रयोग गरी तयार पारिएको स्पष्टीकरण दिएका छन् ।

“यो भिडिओ नक्कली हो र तपाईंलाई धोका दिन बनाइएको हो,” उनले एक्समा भनेका छन्, “प्रविधिको यस प्रकारको दुरुपयोग सरासर गलत हो । यस्ता भिडिओ वा एप वा विज्ञापन देखेमा तुरुन्तै खबर गरिदिनुहुन सबैमा अनुरोध छ ।”

त्यस्तै उनले सामाजिक सञ्जालका प्लेटफर्म पनि यस्ता घटनाबाट सचेत हुनुपर्ने र बेलैमा त्यसविरुद्ध उचित कदम चाल्न सुझाव दिएका छन् । उनले अगाडि लेखेका छन्, “यस सन्दर्भमा उनीहरूको भूमिका धेरै महत्त्वपूर्ण छ । जसले गर्दा गलत सूचना र समाचारलाई रोक्न र डिपफेकको दुरुपयोग अन्त्य गर्न सकिन्छ ।”

इन्टरनेटमा भाइरल भएको ३० सेकेन्डको सो भिडिओमा तेन्दुलकरले एप स्टोरबाट उक्त एप इन्स्टल गर्न भनिएको देखाइएको छ ।

पैसा कमाउन निकै सहज भएको भन्दै उनकी छोरी साराले पनि उक्त बेटिङ प्लेटफर्ममबाट दिनको एक लाख ८० हजार रुपैयाँ कमाउने गरेको बताइएको छ । 

पछिल्लो समय भारतमा डिपफेक भिडिओको दुरुपयोग गर्ने घटना अत्यधिक बढेका छन् । चर्चित व्यक्तिहरू शाहरुख खान, विराट कोहली, मुकेश अम्बानी, रतन टाटा, राविश कुमार, अक्ष्य कुमार, सद्गुरु, प्रियङ्का चोपरा, रश्मिका मन्दना लगायतका व्यक्तिको डिपफेक भिडिओ बाहिरिएको थियो ।

नेपालमा पनि पछिल्लो समय एआईद्वारा राजनीतिज्ञहरूको आवाज प्रयोग गरेर गीत बनाइएको देख्न सकिन्छ । सामाजिक सञ्जालमा त्यस्ता गीत बढी रुचाइएका छन् ।

पछिल्लो अध्यावधिक: माघ २, २०८० १३:२५