close

नेप्से सोचेर १ लाख बढीले डाउनलोड गरेको एप नक्कली !

टेकपाना टेकपाना

माघ २, २०८० १४:३८

नेप्से सोचेर १ लाख बढीले डाउनलोड गरेको एप नक्कली !

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोचेर एक लाख बढीले डाउनलोड गरेको एप नक्कली रहेको पाइएको छ । प्लेस्टोरमा २०१५ मा सार्वजनिक यो एप आधिकारिक नभएको पाइएको हो ।

टेकपानासँग कुरा गर्दै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले प्लेस्टोर तथा एप स्टोरमा राखिएको उक्त एप नक्कली रहेको जानकारी दिए । “हामीले अहिलेसम्म कुनै एप ल्याएका छैनौं,” उनले भने, “कसले हो नेप्से भनेर एप बनाएको छ, त्यो हाम्रो होइन । हाम्रो अहिले एप ल्याउने कुनै तयारी छैन ।”

डेभलपर नेप्से राखेर एपको नाम पनि नेप्से राख्दा प्रयोगकर्ताहरू झुक्किने गरेको उनले सुनाए । यसरी प्रयोगकर्ता झुक्किन थालेपछि दुई वर्षअघि नै सूचना निकालेर उक्त एप नक्कली भएको जानकारी दिएको उनले बताए ।

प्रवक्ता पराजुलीका अनुसार उक्त एपको डेभलपरले एप बनाइसकेपछि नेप्सेलाई खरिद गर्न अनुरोध गरेका थिए । “तपाईंहरूको एप अपडेट भएको छैन भनेर बेला बेलामा हामीलाई सूचना आउँछ,” उनले भने, “हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौं । हामीले खरिद नगरेपछि सायद एप अपडेट नगरेर छोडेको होला ।”

कारवाही गर्ने स्पष्ट प्रावधानहरू पनि नभएपछि एप त्यत्तिकै छोडिएको उनले बताए । उक्त एपमा आएको रिभ्यु हेर्ने हो भने पनि २०२० पछि एप अपडेट नभएको भन्दै नकारात्मक प्रतिक्रिया देख्न सकिन्छ । यद्यपि एपको डिस्क्रिप्सन हेर्ने हो भने पछिल्लो पटक नोभेम्बर २०२१ मा अपडेट भएको देखिन्छ ।

आधिकारिक एपमा यति धेरै गल्तीहरू कसरी हुन सक्छ भन्दै थुप्रैले एपप्रति आशंका व्यक्त गरेको देखिन्छ । त्यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने अधिकांश प्रयोगकर्ता उक्त एपलाई आधिकारिक एप ठानिरहेका छन् ।

प्लेस्टोरमा सो एप एक लाखभन्दा बढी पटक डाउनलोड भएको देखाइएको छ । यसो त एक लाखभन्दा बढी तर पाँच लाखभन्दा कम डाउनलोड भएको एपलाई प्ले स्टोरले एक लाख पटक डाउनलोड गरेको देखाउँछ ।

पछिल्लो समय बजारमा आएका नयाँ एन्ड्रोइड डिभाइसमा एप इन्स्टल गर्न पनि मिल्दैन । डाउनलोड भइसकेको डिभाइसमा पनि उक्त एप खुल्दैन ।

पछिल्लो अध्यावधिक: माघ २, २०८० १४:३८