close

आईफोन अफ गर्ने ४ तरिका

टेकपाना टेकपाना

माघ ३, २०८० १५:२७

आईफोन अफ गर्ने ४ तरिका

काठमाडौं । एप्पलले प्रयोगकर्ता अनुकूल नै आईफोन बनाएको हुन्छ । तर, प्रयोग गर्न जति सजिलो छ, अफ गर्न त्यति सजिलो छैन । प्रायः एन्ड्रोइड फोनमा लक बटनलाई लामो समयसम्म होल्ड गर्ने हो भने फोन अफ गर्ने विकल्प देखिन्छ ।

आईफोनमा भने लक बटन लामो समयसम्म दबायो भने एप्पलको भ्वाइस असिस्टेन्ट ‘सिरि’ खुल्छ । त्यसैले अफ गर्न के गर्ने भन्ने द्विविधा हुन सक्छ । आज हामी आईफोन अफ गर्न सकिने उपयुक्त चार तरिकाबारे जानकारी दिंदैछौं । 

हार्डवेयर बटनको प्रयोग

प्रायः एन्ड्रोइड फोनजस्तो आईफोनमा लक बटन थिचेर अफ गर्न सकिने सुविधा दिइएको हुँदैन । त्यसैले आईफोन अफ गर्न लक बटन र भोल्युम (भोल्युम अप/डाउन) बटन सँगै थिच्नुपर्ने हुन्छ ।

स्क्रिनमा रिस्टार्ट र शटडाउनको अप्सन नदेखिने बेलासम्म ती दुई बटन थिचिरहनु पर्ने हुन्छ । त्यसपछि ‘पावर अफ’लाई स्लाइड गर्‍यो भने त्यसको केही सेकेन्डमै आईफोन अफ हुन्छ ।

यदि तपाईं होम बटन सहितको आईफोन प्रयोग गर्नुहुन्छ भने तपाईंले शटडाउन मेनु नदेखिने बेलासम्म साइड बटन थिच्नुपर्ने हुन्छ । 

आईफोन चलेको छैन भने यसरी अफ गर्नुहोस् 

कतिपय अवस्थामा तपाईंको आईफोनको स्क्रिन फ्रिज (फोन चल्न बन्द हुनु) हुन्छ । त्यस्तो बेला माथि भनिएको जस्तो लक र भोल्युम बटन थिच्दा काम नगर्न सक्छ । त्यसका लागि आईफोनमा फोन गर्ने यस्तो तरिका छ, जसले फोनमा चलिरहेका सबै एपलाई बन्द गर्छ र फोन अफ गरेर रिस्टार्ट गरिदिन्छ ।

तपाईंले यसरी आईफोन गर्नका लागि सबैभन्दा पहिले भोल्युम अप बटन थिचेर छोड्नुहोस्, त्यस लगत्तै भोल्युम डाउन बटन थिचेर छोड्नुहोस् । यति गरिसकेपछि स्क्रिनमा एप्पलको लोगो नदेखिने बेलासम्म लक बटन थिच्नुहोस् । र, स्लाइड गरेर फोन अफ गर्नुहोस् । यो तरिका अपनाउँदा आईफोनमा आएका केही समस्या समाधान हुने प्रयोगकर्ताको अनुभव छ ।

सेटिङमार्फत आईफोन अफ 

तपाईंलाई लक तथा भोल्युम बटन थिचेर आईफोन गर्न झन्झट लागेको छ भने सेटिङ एपबाटै अफ गर्न सकिन्छ ।

त्यसका लागि सबैभन्दा पहिले सेटिङमा जानुहोस् अनि जेनेरलमा जानुहोस् र त्यसपछि शट डाउनको अप्सनमा ट्याप गर्नुहोस् । 

सिरि प्रयोग गरेर आईफोन अफ 

यदि तपाईंको आईफोनमा आईओएस १५ वा सोभन्दा माथिको भर्सन छ भने तपाईंले सिरिको प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले सिरिलाई कमान्ड दिएर फोन अफ गर्न लगाउन सक्नुहुन्छ । विशेषगरी तपाईंले ‘टर्न अफ माई फोन’ वा ‘शट डाउन माई फोन’ भनेर कमान्ड दिनुभयो भने सिरिले कन्फरमेसनका लागि सोध्छ ।

तपाईंले टर्न अफ वा एस भनेको खण्डमा फोन अफ हुन्छ । यसका लागि डिभाइसमा इन्टरनेट कनेक्सन हुन आवश्यक पर्दैन । फोन एरोप्लेन मोडमा हुँदा पनि सिरिलाई भनेर अफ गर्न सकिन्छ । तपाईंले यस्ता विभिन्न टिप्स अपनाएर आईफोन अफ गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८० १५:२८