close

अमेरिकामा श्रीमान्‌को उपचारमा रहेकी सिर्जना सुवेदीको नामबाट ६ महिनादेखि स्क्याम‍

टेकपाना टेकपाना

माघ १५, २०८० १४:४९

अमेरिकामा श्रीमान्‌को उपचारमा रहेकी सिर्जना सुवेदीको नामबाट ६ महिनादेखि स्क्याम‍

काठमाडौं । सिर्जना सुवेदीको नाममा नक्कली फेसबुक पेज बनाएर रकम माग्ने गतिविधि चलिरहेको पाइएको छ । स्क्यामरले १० दिनमा १० लाख रुपैयाँ आवश्यक परेको भन्दै ‘गुगल पे’ को क्यूआर राखेर रकम माग्दै गरेको देखिएको हो । 

सुवेदी ब्रेन ट्युमरबाट ग्रसित आफ्ना श्रीमान् विवेक पङ्गेनीका लागि सामाजिक सञ्जालबाट सहयोग आह्वान गर्दै आएकी छिन् । नेपालमा उनको सहयोगका लागि रकम सङ्कलन गर्ने जिम्मा नेपालगन्जका स्वारज ठकुरीले पाएका थिए । 

टेकपानासँग कुरा गर्दै ठकुरीले फेसबुकमा सिर्जनाको नाम राखेर रकम उठाइरहेकोप्रति आपत्ति जनाए । “भिडिओमा क्यूआर कोडको स्क्रिनशट राखेर रकम पठाइदिन भन्दै पोस्ट अपलोड भएको छ भन्ने सूचना आएको थियो,” ठकुरीले भने, “त्यसका लागि हामी कानूनी प्रक्रियामा जान खोजिरहेका छौं ।”

सिर्जना सुवेदीए (Crzana_subedia) नामबाट खोलिएको सो पेजमा पैसा माग्नका लागि पछिल्लो समय जनवरी २२ मा रिल्स राखिएको छ । उक्त रिल्समा सुवेदीको पुरानो टिकटक भिडिओमा क्याप्सन राखेर गुगल पेको क्यूआर कोडमा १००/२०० रुपैयाँ पठाइदिन अनुरोध गरेको देखिन्छ । 

उक्त पोस्टको क्याप्सनमा ‘निड फुल सपोर्ट’ भनेर लेखिएको छ । त्यस्तै १० दिनमा १० लाख रुपैयाँ चाहिएको भन्दै भिडिओमा क्याप्सन पनि राखिएको देख्न सकिन्छ । कमेन्टमा कतिपयले यो स्क्याम भएको बताएका छन् भने कतिपयले सहयोगमा साथ दिएका छन् ।

त्यही भिडिओ जनवरी १३ मा पनि अपलोड गरिएको देख्न सकिन्छ । उक्त भिडिओमा नौ हजार बढी रियाक्सन आएका छन् । त्यसभन्दा अगाडि जनवरी ८, जनवरी ४, डिसेम्बर ३१, डिसेम्बर ३०, डिसेम्बर २८, डिसेम्बर २६, डिसेम्बर २५, डिसेम्बर २४, डिसेम्बर २३, डिसेम्बर २२ का दिनमा पोस्ट राखेको देख्न सकिन्छ । उक्त पेज ११ अगस्ट २०२३ मा खोलिएको देखिन्छ । 

सुरुमा फ्यानपेजको रूपमा खोलिएको भए पनि २४ अगस्टमा एक भिडिओ राख्दै सहयोगका लागि याचना गरिएको छ । हालसम्म सो पेजमा यसरी सहयोग आह्वान गरिएका ५० भन्दा बढी भिडिओ पोस्ट भइसकेका छन् । 

गत अगस्टमा खोलिएको उक्त पेजमा अहिलेसम्म २५ हजार बढी फलोअर पुगेका छन् । सो पेजमा अधिकांश टिकटकबाट वाटरमार्क बिनाका भिडिओ डाउनलोड गरेर रिल्सको रूपमा राखिएका छन् । 

ती रिल्सको क्याप्सन भने हिन्दी भाषामा लेखिएका छन् । पछिल्लो समय सिर्जना सुवेदी र विवेक पङ्गेनीको जोडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित बन्दै गएको छ । 

ब्रेन ट्युमरबाट ग्रसित पङ्गेनीको अहिले अमेरिकामा उपचार भइरहेको छ । सुवेदी उपचार तथा हेरचाहका विभिन्न क्षणलाई कैद गरेर सामाजिक सञ्जालमा राखिरहेकी हुन्छिन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि ती भिडिओ हरेर पङ्गेनीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । स्क्यमारले यही कुराको फाइदा उठाउँदै यो स्क्याम चलाइरहेको देख्न सकिन्छ । 

सुवेदीले आफ्नो आधिकारिक इन्स्टाग्राम, टिकटक वा फेसबुक अकाउन्टमा पछिल्लो समय गुगल पेमा रकम पठाइदिन अनुरोध गरेकी छैनन् । उनको अकाउन्टमा भने गोफन्डमीको लिङ्क देख्न सकिन्छ । 

त्यसबाहेक नेपालमा रहेका व्यक्तिले ९८२२५७७७०६ (स्वरज शाही ठकुरी) को ईसेवा आईडी वा युवराज सुवेदीको नाममा भएको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०५४००९२३६६७०००११ मा रकम पठाउन सक्छन् ।

 

पछिल्लो अध्यावधिक: माघ १५, २०८० १४:४९