close

त्रिविको अनलाइन ट्रान्सक्रिप्ट सेवामा विद्यार्थीको अकाउन्ट नै भेरिफाई नहुने समस्या

टेकपाना टेकपाना

माघ १६, २०८० १३:५३

त्रिविको अनलाइन ट्रान्सक्रिप्ट सेवामा विद्यार्थीको अकाउन्ट नै भेरिफाई नहुने समस्या

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोमवारदेखि सञ्चालनमा ल्याएको सर्टिफिकेट एप्लिकेसन पोर्टलमा समस्या भएको भन्दै विद्यार्थीले गुनासो गरेका छन् । अनलाइन सेवाका लागि भेरिफिकेसन ईमेल नै नआएको भन्दै उनीहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत गुनासो गरेका हुन् ।

अनलाइन सेवा अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने गरी त्रिवि परिक्षा नियन्त्रण कार्यालयले यो पोर्टल सञ्चालनमा ल्याएको हो । तर अनलाइन आवेदन दिन अकाउन्ट बनाउँदा आफूहरूलाई भेरिफिकेसन ईमेल नआएको विद्यार्थीले बताएका छन् ।

आवेदन दिनुअघि टीयू एक्जामको साइटमा गएर सर्टिफिकेट एप्लिकेसन पोर्टलमार्फत अकाउन्ट बनाउनुपर्ने हुन्छ । अकाउन्ट बनाउन विद्यार्थीको रजिस्ट्रेसन नम्बर, नाम, ईमेल, मोबाइल नम्बर तथा पासवर्ड राख्नुपर्ने हुन्छ । यति गरेपछि त्यहाँ राखिएको ईमेलमा भेरिफिकेसन मेल जान्छ ।

भेरिफिकेसन मेलमा पठाइएको लिङ्कमा गएपछि मात्र अकाउन्ट भेरिफाई हुन्छ । तर, अकाउन्ट भेरिफाई नभएसम्म अगाडिको प्रक्रियामा पुग्न सकिंदैन । विद्यार्थीहरूले यही भेरिफिकेसन ईमेल नआएको भन्दै गुनासो गरेका छन् । 

पनिकाका एक कर्मचारीले पनि अधिकांश विद्यार्थीले भेरिफिकेसन ईमेल नआएको समस्या सुनाइरहेकाे बताए । “हामीलाई पनि धेरैले फोन गरेर भेरिफिकेसन मेल आइरहेको छैन भन्नु भएको छ,” ती कर्मचारीले भने, “यो समस्या हाम्रो प्राविधिक टोलीलाई भनिसकेका छाैं । अबको दुई चार दिनमा समस्या पूर्ण रूपमा समाधान हुन्छ भन्नु भएको छ ।”

 

पछिल्लो अध्यावधिक: माघ १६, २०८० १३:५३