close

सानो क्लिप सुनेकै भरमा गीतबारे पूरा थाहा पाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ १६, २०८० १६:५८

सानो क्लिप सुनेकै भरमा गीतबारे पूरा थाहा पाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउँदा कुनै मिठो धुन वा क्लिप बजिरहेको हुन्छ । तर त्यो कुन गीतको धुन हो, कसको गीत हो भनेर तपाईँलाई थाहा नहुन सक्छ ।

यस्तोमा मन परेको धुन पूरा सुन्न नपाउने अवस्था हुन सक्छ । तर तपाईंले कुनै स्मार्ट विधि अपनाउँदा आफ्नो फोन अथवा कम्प्युटरमा ती धुनबारे पूरा जानकारी पाउन सक्नुहुन्छ । आज हामी त्यसैबारे जानकारी दिने छौं:

आईफोन/आईप्याड    

आईओएस डिभाइसहरूमा अंश (क्लिप)बाटै गीतबारे पूरा थाहा पाउन भोइस असिस्टेन्ट सिरी प्रयोग गर्न सकिन्छ । सिरीमा यो फिचर शाजम (Shazam)  एपबाट सञ्चालित हुन्छ । शाजम, त्यस्तो प्लेटफर्म हो, जसले गीतको पहिचान गर्न सहयोग गर्छ । 

हाल यो एप एप्पल अन्तर्गत नै रहेको छ । यसकारण आईफोन अथवा आईप्याडजस्ता डिभाइसमा गीत पहिचान गर्न शाजमको छुट्टै एप डाउनलोड गर्न पर्दैन ।

तर शाजम एपको पछिल्लो भर्सन र तपाईंको एप्पल आईडीमा टु-फ्याक्टर अथेन्टिकेसन इनेबल भने गरेको हुनुपर्छ । त्यस्तै आईक्लाउड सेटिङमा तपाईंले म्युजिक रिकग्निसन र शाजम एप एक्टिभ गरेको हुनुपर्छ । 

यदि आईओएस डिभाइसमा तपाईंले यति काम गर्नु भएको छ भने 'हेई सिरी, ह्वाट सङ इज दिस, ह्वाट सङ इन प्लेइङ?' लगायतका प्रश्न गरेर डिभाइसमा बजिरहेको गीत अथवा धुन कुन हो भनेर सोध्न सक्नुहुन्छ । त्यसपछि शाजम एपमा गीतबारे जानकारी देखा पर्छ । यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् । 

एन्ड्रोइड  

गुगलले पनि गीत पहिचान गर्न सक्ने फिचर इनबिल्ट रुपमा भोइस असिस्टेन्टमा उपलब्ध गराएको छ । यसका लागि तपाईंले भोइस असिस्टेन्टमा गीत गुनगुनाउनु पर्ने हुन्छ । तपाईंले गीतको कुनै पनि भाग गुनगुनाउन सक्नुहुन्छ । त्यसकै आधारमा तपाईंलाई भोइस असिस्टेन्टले नतिजा उपलब्ध गराउँछ ।

यसका लागि 'हेई गुगल, ह्वाट सङ इज दिस?’ ‘ओके गुगल, फाइन्ड द सङ’ भनेपछि गीत गुनगुनाउन सक्नुहुन्छ । (युट्युबमा यो तरिका प्रयोगबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।)

क्रोम एक्सटेन्सन 

यदि तपाईं गुगल क्रोम प्रयोग गर्नुहुन्छ भने शाजमको क्रोम एक्सटेन्सन प्रयोग गर्न सक्नुहुन्छ । यसाे गर्दा तपाईंले कुनै पनि प्रकारको माइक्रोफोन प्रयोग गर्नु पर्दैन । तर क्रोम ट्याबमा तपाईंले उक्त अडिओ फाइल भने खोल्नुपर्ने हुन्छ । 

त्यसपछि शाजमको एक्सटेन्सन आइकनमा क्लिक गरेर तपाईंले सजिलै गीत/धुनबारे थाहा पाउन सक्नुहुन्छ । थाहा नभएको गीतको पहिचान गर्ने योभन्दा सरल र सजिलो उपाय पनि हो ।

शाजमको क्रोम एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

वेब ब्राउजर

वेब ब्राउजरमा गुनगुनाएर पनि तपाईंले गीत पहिचान गर्न सक्नुहुन्छ । यसका लागि साउन्ड हबले सञ्चालन गरिरहेको मिडोमी वेबसाइट प्रयोग गर्न सक्नुहुन्छ । यो वेबसाइट खोल्नासाथ तपाईंले मध्य भागमा गोलो आकारको एउटा ठूलो चिन्ह देख्न सक्नुहुन्छ । 

गीतको पहिचान गर्न त्यसैमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि यसले सम्बन्धित गीतको जानकारी दिने गर्छ । मिडोमीबाट छिट्टै गीत पत्ता लगाउन सकिन्छ । किनकी यसले स्पोटीफाई, एप्पल म्युजिक, डिजर, अमेजन म्युजिक लगायतका धेरै स्ट्रिमिङ प्लेटफर्ममा सर्च गर्ने गर्छ । 

यसले गीतको शब्द पनि उपलब्ध गराउँछ । मिडोमी वेबसाइट भएकोले तपाईंले विन्डोज बाहेक लिनक्स, म्याक लगायतका अपरेटिङ सिस्टममा समेत काम गर्छ । मिडोमीको वेबसाइट चलाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १६, २०८० १७:४३