काठमाडौं । गण्डकी प्रदेशमा राइड शेयरिङको बाटो खुलेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले बनाएको गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० प्रदेश राजपत्रमा प्रकाशित भएसँगै राइड शेयरिङका लागि कानूनी बाटो खुलेको हो ।
उक्त नियमावलीले निजी सवारीले पनि यात्रु ओसारपसार गर्न सक्ने व्यवस्था गरेको छ । यस अनुसार निजी प्रयोजनका लागि दर्ता भएका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रुको बीमा गरी सेवा दिनसक्ने छन् ।
नियमावलीमा भनिएको छ, ‘‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीले सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्नसक्ने गरी मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्न सक्नेछ ।’’
गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा २२१ ले दिएको अधिकार प्रयोग गरी गण्डकी प्रदेश सरकारले यस्तो नियम कार्यान्वयनमा ल्याउन लागेको हो ।