close

अब भारत जाने एनसेलका ग्राहकलाई १०० रुपैयाँमै ५०० एमबी डेटासँगै ३ दिनको रोमिङ

टेकपाना टेकपाना

माघ २२, २०८० २०:४१

अब भारत जाने एनसेलका ग्राहकलाई १०० रुपैयाँमै ५०० एमबी डेटासँगै ३ दिनको रोमिङ

काठमाडौं । एनसेलले छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा जाने आफ्ना ग्राहकहरूका लागि आकर्षक रोमिङ प्याक सुरु गरेको छ । कम्पनीले बारम्बार भारत गइरहने ग्राहकलाई लक्षित गर्दै सस्तो रोमिङ सुविधा ल्याएको हो ।

कम्पनीका अनुसार करसहित १०० मा यो रोमिङ प्याक लिन सकिन्छ, जुन तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । यसको अर्थ प्रति दिन ३३ रुपैयाँमा तीन दिनसम्म रोमिङ सेवा प्राप्त गर्न हुनेछ । यति मात्र नभई प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउनेछन् । त्यसका साथै भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट हुने बताइएको छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको यो प्याकले सीमावर्ती वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर जस्ता क्षेत्रहरूबाट बारम्बार भारत गइरहने साना व्यवसायी, यातायात मजदुर जस्ता प्रयोगकर्ताको आवश्यकतालाई सम्बोधन गर्ने आशा लिइएको छ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकले समेत यसबाट लाभ प्राप्त गर्न सक्ने बताइएको छ ।

एनसेलका ग्राहकले *१७१२९*५# डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक एनसेल एप, एनसेलको वेबसाइटर र विभिन्न डिजिटल प्लेटफर्म जस्ता अन्य माध्यमबाट समेत लिन सकिनेछ ।

यो प्याक लिने बित्तिकै बिना झन्झट रोमिङ सेवा स्वतः सक्रिय हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन् । साथै इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो (प्रयोग गरेअनुसार लाग्ने शुल्क) शुल्कमा ३२ प्रतिशत छुट मिल्नेछ ।

यसको मतलब कम्पनीका ग्राहकले कर सहित १६.४८ रुपैयाँ प्रति मिनेटमा कल उठाउन र भारतका मोबाइल तथा टेलिफोन नम्बरहरूमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्क २९ प्रतिशत छुटसहित ६.३४ रुपैयाँ मात्र लाग्नेछ ।

एक पटक सुरु गरेपछि प्याक तीन दिनका लागि मान्य हुन्छ र ग्राहकले आफ्नो आवश्यकताको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् ।

सबै भारतीय सेवाप्रदायकहरूसँग एनसेलले सहकार्य गरेकाले यो प्याकले विशेष गरी कम्पनीका ग्राहकलाई सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन मद्दत पुर्‍याउने आशा लिइएको छ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८० २०:४१