close

गुगल बार्डबाट निःशुल्क कसरी बनाउने उत्कृष्ट तस्वीर ?

टेकपाना टेकपाना

माघ २३, २०८० ११:४३

गुगल बार्डबाट निःशुल्क कसरी बनाउने उत्कृष्ट तस्वीर ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट तस्वीर तयार पार्ने विषय सामान्य जस्तै बनिसकेको छ । अहिले इन्टरनेटमा त्यस्ता थुप्रै टुल छन्, जसको सहायताले आकर्षक तस्वीर बनाउन सकिन्छ । मिडजर्नी, ड्यालई र स्टेबल डिफ्युजन शब्दकै भरमा तस्वीर तयार पार्न सकिने टुल हुन् । तर, यी टुल प्रयोग गर्न शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै प्रविधिमा सामान्य रुचि भएका प्रयोगकर्तालाई यी टुल जटिल लाग्न सक्छन् ।

गुगलले हालै मात्र आफ्नो च्याटबट ‘बार्ड’ मार्फत तस्वीर तयार पार्न सकिने फिचर सार्वजनिक गरेको छ । आज हामी बार्ड प्रयोग गरी कसरी उत्कृष्ट तस्वीर तयार पार्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौं:

गुगल बार्ड प्रयोग गरी एआई तस्वीर बनाउने प्रक्रिया निकै सामान्य छ । हालसम्म गुगलले यो फिचर निःशुल्क उपलब्ध गराएको छ । तपाईंले बार्डलाई जस्तो तस्वीर बनाउने निर्देशन दिनुभयो, यसले त्यस्तै तस्वीर बनाउन सक्ने बताइएको छ । तर, तपाईंले प्रम्प्ट स्पष्ट उल्लेख गर्नुपर्ने हुन्छ । अन्यथा तपाईंको आवश्यकता अनुसारको फोटो तयार नहुन सक्छ ।

तपाईंले एआईबाट फोटो तयार पार्न प्रम्प्टको सुरुवातमा जहिले पनि ‘जेनेरेट’ (Generate) वा ‘क्रियट’ (Create) जस्ता शब्द प्रयोग गर्नुपर्छ । त्यसपछि बार्डले तपाईंको प्रम्प्टको आधारमा दुई ओटा तस्वीर उपलब्ध गराउँछ ।

यदि तपाईंलाई पहिलो पटक उक्त टुलले तयार पारेका तस्वीर मन परेनन् भने ‘Generate More’ अप्सनमा ट्याप गरेर थप तस्वीर तयार पार्न निर्देशन दिन सक्नुहुन्छ । अथवा तपाईंले अर्को प्रम्प्ट राखेर तस्वीर तयार पार्न सक्नुहुन्छ ।

गुगलका अनुसार बार्डले एआईद्वारा तस्वीर तयार पार्न ‘इम्याजिन टु’ नामको टेक्स्ट टु इमेज डिफ्युजन मोडेल प्रयोग गरेको छ । बार्डबाट तस्वीर तयार पारिएको हो भन्ने जानकारी दिन गुगलले फोटोमा वाटरमार्क पनि राखेको हुन्छ । तर, त्यस्तो वाटरमार्क मानव आँखाले सजिलै छुट्याउन सक्दैन ।

गुगल बार्ड प्रयोग गरेर एआई तस्वीर बनाउने तरिका

- सबैभन्दा पहिले यहाँ क्लिक गरेर बार्डको वेबसाइटमा जानुहोस् ।

- त्यसपछि ‘साइन इन’ (Sign In) को बटनमा ट्याप गर्नुहोस् ।

  • यति गरेपपछि आफ्नो गुगल अकाउन्ट प्रयोग गरी साइन इन गर्नुहोस् । 

  • अनि तपाईंको डिस्प्लेमा यस्तो इन्टरफेस देखिन्छ । 

  • त्यसमा तलपट्टि भएको प्रम्प्ट बक्स (Enter a prompt here)मा आफूले कस्तो तस्वीर बनाउन चाहेको हो त्यो टाइप गर्नुहोस् । (उदाहरणका लागि Create a close-up and realistic photo of a Nepal Airlines landing on a runway, include mountain at the background)

 

तपाईंले बार्डलाई तस्वीर तयार पार्न प्रम्प्ट राख्दा शब्दहरू स्पष्ट उल्लेख गरेको हुनुपर्छ । तपाईंलाई कस्तो तस्वीर आवश्यक परेको छ सबै आवश्यकता प्रम्प्टमा समावेश गर्नुहोस् । बार्डमा तस्वीरहरू विभिन्न आर्ट स्टाइलमा तयार पार्न सकिन्छ । गुगलका अनुसार यसमा वास्तविक जस्तै देखिने तस्वीरदेखि पेन्ट गरेको जस्तो देखिने तस्वीर तयार पार्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८० १२:९