close

सकियो बार्डको अस्तित्व, गुगलका सबै एआई प्रडक्ट जेमिनाईमा रिब्रान्ड

टेकपाना टेकपाना

माघ २५, २०८० २०:२९

सकियो बार्डको अस्तित्व, गुगलका सबै एआई प्रडक्ट जेमिनाईमा रिब्रान्ड

 

काठमाडौं । गुगलले आफ्नो चर्चित च्याटबटको नाम बार्डबाट परिवर्तन गरेर जेमिनाई राखेको छ । बिहीवार कम्पनीले विश्वभर लाइभ हुनेगरी बार्डको नाम परिवर्तन गरेको हो । यसो त यसअघि नै विभिन्न रिपोर्टमा कम्पनीले आफ्नो च्याटबटको नाम परिवर्तन गर्न लागेको जानकारी बाहिरिसकेको थियो ।

तर, बार्डलाई जेमिनाईमै रिब्रान्ड गर्छ भन्ने कमैको अपेक्षा थियो । तर, कम्पनीले भने बार्डलाई अकस्मात् जेमिनाईमा रिब्रान्ड गरेको छ । अहिले भने बार्ड डट गुगल डटकम यूआरएल रिडाइरेक्ट भएर जेमिनाई डट गुगल डटकम (gemini.google.com) पेजमा गइरहेको छ । 

कम्पनीले आफ्नो इकोसिस्टममा जेमिनाई प्रयोग गर्न रिब्रान्ड गरेको बताइएको छ । कम्पनीले प्रयोगकर्तामाझ जेमिनाईको पहुँच सहजै पुर्‍याउन एन्ड्रोइड तथा आईओएसका रूपमा उपलब्ध समेत गराउने भएको छ । 

यससँगै गुगलले जेमिनाईको प्रिमियम संस्करण ‘जेमिनाई एड्भान्स्ड’ पनि घोषणा गरेको छ । यसलाई प्रयोगकर्ताले गुगल वन सब्स्क्रिप्सन लिएर प्रयोग गर्न सक्नेछन् । त्यसमा सामान्यभन्दा केही स्तरीय फिचर हुने बताइएको छ । यसका लागि भने प्रयोगकर्ताले मासिक १९.९९ अमेरिकी डलर (साढे दुई हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ । 

बार्डभन्दा जेमिनाई गुगलको स्तरीय एआई च्याटबट हो । यसले बार्डभन्दा प्रयोगकर्ताका प्रम्प्ट सहजै बुझ्ने गुगलको भनाइ छ । प्रेस सम्मेलनका क्रममा गुगलले जेमिनाई कन्टेन्ट क्रियटरका लागि उपयुक्त हुने बताएको थियो ।

यसलाई कम्पनीले १५० भन्दा बढी देशमा लाइभ गरेको छ । सुरुवाती चरणमा कम्पनीले नयाँ ग्राहकलाई दुई महिनाको निःशुल्क ट्रायल उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार वन प्रिमियम प्लानमार्फत प्रयोगकर्ताले यो टुल छुट्टै जिमेल, डक्स, शिट, स्लाइड्स र मिटमा प्रयोग गर्न सकिनेछ । कम्पनीले अहिले प्रयोगमा आइरहेको डुएट एआई विस्तापित गर्ने योजना बनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ २५, २०८० २०:२९