close

एप्पलको नयाँ एआई मोडेल, अब शब्द टाइप गरेकै भरमा फोटो एडिट हुने !

टेकपाना टेकपाना

माघ २६, २०८० १२:१५

एप्पलको नयाँ एआई मोडेल, अब शब्द टाइप गरेकै भरमा फोटो एडिट हुने !

काठमाडौं । एप्पलले शब्दकै भरमा फोटो एडिट गरिदिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल ल्याएको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियासँगको सहकार्यमा  कम्पनीले हालै​ यस्ताे मोडेल ल्याएकाे हाे । यो मोडेललाई कम्पनीले एमएलएलएम गाइडेड इमेज एडिटिङ (एमजीआईई) नाम दिएको छ ।

कम्पनीका अनुसार शब्दकै भरमा प्रयोगकर्ताले चाहेको जस्तै फोटो एडिट गर्न सक्नेछन् । विशेषगरी यो टुल फोटो क्रपिङ, रिसाइजिङ, रोटेटिङ लगायतमा काममा प्रयोग गर्न सकिने बताइएको छ । त्यसबाहेक ब्राइटनेस एडजस्ट, कलर ब्यालेन्स, कन्ट्रास्ट जस्ता सबै काम यही टुलले गर्न सक्नेछ । यो टुलले कसरी काम गर्छ भन्ने विषय हालै प्रकाशित भएको कन्फेरेन्स पेपरमा उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार यो मोडेल दुई चरणमा काम गर्छ । सबैभन्दा पहिले यो टुलले प्रयोगकर्ताले दिएको प्रम्प्टलाई बुझ्छ । त्यसपछि प्रम्पटका आधारमा फोटो कस्तो हुन सक्छ भन्ने ‘कल्पना’ गर्छ र त्यही अनुरूपको रिजल्ट देखाउँछ । प्रयोगकर्ताले यो टुल प्रयोग गर्नका लागि फोटो अपलोड गरिसकेपछि के परिवर्तन गर्नुपर्ने हो त्यो कुरा स्पष्ट उल्लेख गर्नुपर्ने हुन्छ ।

कन्फेरेन्स पेपरमा पिज्जाको उदाहरण दिइएको छ । त्यसमा ‘मेक इट मोर हेल्दी’ बनाउन भनिएको छ । त्यसपछिको परिणाममा पिज्जालाई फरक देखाइएको छ । त्यस्तै फोटोशप मोडिफिकसेनका सन्दर्भमा एउटा व्यक्तिको फोटो राखेर त्यसबाट ब्याकग्राउन्डमा भएकी महिलाको हटाउन हटाउन भनिएको छ । नतिजामा उक्त व्यक्तिको पछाडिपट्टिको महिला हटाइएको देखाइएको छ । 

एप्पलले एमजीआईईलाई गिटहबबाट डाउनलोड गर्न सकिनेगरी उपलब्ध गराएको छ । यो मोडेल सार्वजनिक रूपमा कहिले बाहिर आउँछ वा यो एक अध्ययन मात्र हो भन्ने विषयमा कम्पनीले केही स्पष्ट उल्लेख गरेको छैन । 

यसो त शब्दकै भरमा फोटो तयार पारिदिने थुप्रै एपहरू उपलब्ध छन् । त्यसमा पनि सबैभन्दा बढी ओपनएआईको ड्यालई थ्री बढी रुचाइएको प्लेटफर्ममा पर्छ । यस टुलले प्रयोगकर्ताको प्रम्प्टको आधारमा तस्वीर तयार पार्छ । त्यस्तै फोटोशपको कम्पनी एडोबीले शब्दकै भरमा फोटो एडिट गर्ने फिचर ल्याएको थियो ।

त्यसबाहेक कम्पनीले एडोबी फायरफ्लाईमार्फत ‘जेनेरेटिभ फिल’ फिचर उपलब्ध गराएको छ । जेनेरेटिभ एआईको सन्दर्भमा माइक्रोसफ्ट, मेटा वा गुगल जस्तो एप्पल ठूलो खेलाडिका रूपमा देखिएको छैन । तर, एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले भने कम्पनीले यो वर्ष आफ्ना डिभाइसमा थुप्रै एआई फिचर समावेश गर्न लागेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८० १२:१५