close

विन्डोजबाट सधैंका लागि हट्यो आईट्युन्स

टेकपाना टेकपाना

माघ २७, २०८० १५:५१

विन्डोजबाट सधैंका लागि हट्यो आईट्युन्स

काठमाडौं । एप्पलले विन्डोज पीसीबाट आईट्युन्सलाई सदाका लागि बिदाइ गरेको छ । विन्डोज १० र ११ मा उस्तै कार्यक्षमता भएका नयाँ एपहरू सार्वजनिक गर्दै एप्पलले आईट्युन्सलाई विन्डोजबाट बिदाइ गरेको हो ।

यससँगै एप्पलले विन्डोजका लागि म्युजिक, टिभी र डिभाइस नामक फरक फरक एप सार्वजनिक गरेको छ । प्रयोगकर्ताले यी एप विन्डोज १०/११ मा हुने माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

सार्वजनिक गरिएका नयाँ एपहरूमध्ये म्युजिक एपबाट तपाईंले एल्बम र गीतहरूमा पहुँच पाउन तथा तिनलाई बजाउन सक्नुहुन्छ । टिभी एपबाट चलचित्र र टिभी कार्यक्रमहरूमा पहुँच पाउन सक्नुहुन्छ । त्यस्तै डिभाइस एपबाट तपाईंले विन्डोज पीसी र आईफोन/आईप्याड बीचमा संगीत, चलचित्र, टिभी कार्यक्रमहरूको ब्याकअप राख्न, रिस्टोर गर्न अथवा सिङ्क गर्न सक्नुहुन्छ ।

एप्पलले विन्डोजबाट आईट्युन्सका सबैजसो फिचर अन्य एपमा उपलब्ध गराइसकेको छ । यद्यपि पोडकास्ट र अडियोबुकहरूका लागि भने छुट्टै व्यवस्था गरिएको छैन । आईओएस तथा आईप्याडमा यिनीहरूका लागि छुट्टै एप भएको हुँदा विन्डोजमा पनि चाँडै यी केन्द्रित भएर एप आउने अपेक्षा गरिएको छ । यद्यपि यो अपडेट भने विन्डोज १० र ११ मा मात्र लागू हुनेछ ।

यदि तपाईंले पुरानो भर्सनका विन्डोज प्रयोग गरिरहनु भएको छ भने तपाईंले नयाँ एपहरूमा पहुँच पाउन सक्नुहुन्न । एप्पलले २००१ मा म्याक र २००३ मा विन्डोजमा आईट्युन्स ल्याएको थियो । प्रयोगकर्ताले यसबाट गीत, अडियोबुक लगायतका अन्य कन्टेन्ट खरिद गर्न सक्थे ।

तर २०१९ मा म्याकओएस क्याटालिन सार्वजनिक गर्दै म्याकबाट एप्पलले आईट्युन्स हटाएको थियो । त्यस्तै २०२२ को अक्टोबरमा एप्पल र माइक्रोसफ्टले विन्डोजबाट समेत आईट्युन्स हटाउने सङ्केत गरेका थिए ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८० १६:५३