close

अब जुनसुकै मेसेजिङ एपबाट ह्वाट्सएपमा मेसेज पठाउन सकिने !

टेकपाना टेकपाना

माघ २८, २०८० १३:१६

अब जुनसुकै मेसेजिङ एपबाट ह्वाट्सएपमा मेसेज पठाउन सकिने !

 

काठमाडौं । ह्वाट्सएपमा अब छिट्टै जुनसुकै मेसेजिङ एपबाट मेसेज पठाउन सकिने फिचर आउने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वायर्डसँगको अन्तर्वार्तामा ह्वाट्सएपका इन्जिनियरिङ डाइरेक्टर डिक ब्राउवरले अन्य मेसेजिङ एपहरूसँग अन्तरआवद्धता कायम गर्न लागेको खुलाएका हुन् ।

युरोपेली संघको डिजिटल मार्केट एक्ट (डीएमए) मा मेसेजिङ एपमा अन्तरआवद्धता कायम हुनुपर्ने नीति आएसँगै कम्पनीले जुनसुकै मेसेजिङ प्लेटफर्मबाट मेसेज पठाउन सकिने फिचर ल्याउन लागेको हो । यो फिचर आउने भएसँगै प्रयोगकर्ताले अन्य मेसेजिङ एपबाट ह्वाट्सएपमा टेक्स्ट, तस्वीर, भ्वाइस मेसेज, भिडिओ र फाइल पठाउन सक्नेछन् ।

विशेषगरी थर्ड पार्टी मेसेजिङ एपजस्तै आईमेसेज, टेलिग्राम, गुगल मेसेज तथा सिग्नलबाट ह्वाट्सपमा र ह्वाट्एपबाट यी मेसेजिङ एपमा मेसेज पठाउन  सकिनेछ । त्यस्तोमा मेटाले मेसेज कसरी सुरक्षित तथा इन्क्रिप्टेट राख्न सक्छ भन्ने सवाल निम्तिएको छ । वायर्डले उल्लेख गरे अनुसार ह्वाट्सएपले आफूसँग जोडिने मेसेजिङ सर्भिसलाई उही सिग्नल प्रोटोकलमा जोडेर इन्क्रिप्सन कायम गर्ने योजना बनाएको छ ।

त्यस्तै थर्ड-पार्टी एपले पनि प्रयोगकर्ताको मेसेज तथा अन्य डेटा इन्क्रिप्टेड राख्ने सम्झौतामा मेटासँग सम्झौता गर्नुपर्ने हुन्छ । ब्राउवरका अनुसार कम्पनीले तेस्रो पक्षसँग ह्वाट्सएप च्याट सुरक्षित तथा गोप्य राख्नका लागि विभिन्न काम गरिरहेको छ ।

डीएमएले ह्वाट्सएपलाई डिजिटल गेटकिपरका रूपमा परिभाषित गरेको छ । त्यसैले पनि कम्पनीले यस्तो परिवर्तन ल्याउन लागेको बताइएको छ ।

डिजिटल गेटकिपर भएकाले मेटाले विभिन्न डिजिटल सेवाहरूबीच प्रतिस्पर्धा वृद्धि गर्न नियमहरू पालना गर्नुपर्ने हुन्छ । डीएमएले मेटालाई मार्च २०२४ सम्म यस्तो फिचर कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । मेटाले यो फिचर कहिलेदेखि विश्वभरका प्रयोगकर्तामाझ उपलब्ध गराउँछ भन्नेबारे स्पष्ट जानकारी बाहिर आएको छैन ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८० १३:१६