close

के तपाईँलाई थाहा छ, ‘सामसङ’ नामको अर्थ ?

टेकपाना टेकपाना

माघ २८, २०८० १५:३२

के तपाईँलाई थाहा छ, ‘सामसङ’ नामको अर्थ ?

काठमाडौं । प्रविधिको दुनियाँमा ‘सामसङ’ शब्द पुरानो होइन । हामीमध्ये अधिकांशले कुनै न कुनै समय सामसङका प्रडक्ट पक्कै प्रयोग गरेका छौं ।

सामसङ विश्वकै ठूलो फोन निर्मातामध्ये एक हो । ​स्मार्टफोन उत्पादन तथा वितरणका सन्दर्भमा सन् २०१० पछि २०२४ सम्म सामसङ नै शीर्ष स्थानमा थियो ।

पछिल्लो आईडीसी रिपोर्ट अनुसार सामसङलाई पछि पार्दै २०२४ मा एप्पल सबैभन्दा ठूलो मोबाइल उत्पादनकर्ता बनेको छ । सन् १९३८ पछि सामसङ प्रविधिको क्षेत्रमा अग्रस्थानमा छ । तर, के तपाईंलाई थाहा छ ‘सामसङ’को अर्थ के हो ? 

सामसङको अर्थ के होला ?

सामसङको अर्थको कुरा गर्नुपर्दा यो दुई ओटा शब्द ‘साम’ र ‘सङ’ले बनेको छ । यसको अनुवाद ‘तीन तारा’ हुन्छ । सामसङको आधिकारिक वेबसाइटमा उल्लेख भए अनुसार यो नाम संस्थापक ली ब्युङ-चुलले राखेका हुन् ।

विशेषगरी तीन भन्नाले ठूलो, प्रशस्त र बलियोलाई प्रतिनिधित्व गर्छ भने ताराले उज्यालो, उच्च र चम्किलो भन्ने बुझिन्छ । कम्पनीले सन् १९७९ देखि १९९३ सम्म कायम राखेको लोगोमा तीन ओटा ताराको तस्वीर राखिएको देख्न सकिन्छ । यद्यपि तीन दशकमा लोगोको आकार, त्यसमा राखिएको फन्ट भने फरक-फरक थियो ।

तर, सन् १९९३ पछि सामसङले निलो ब्याकग्राउन्डमा सेताे अक्षरले सामसङ लेखेको लोगो सार्वजनिक गरेको थियो । उक्त लोगो पनि सन् २००५ सम्म कायम भयो । सन् २००५ देखि अहिलेसम्म सामसङ शब्द लेखेको लोगो प्रयोगमा छ । 

स्टारदेखि ग्यालेक्सीसम्म

सामसङले ग्यालेक्सी ब्रान्डिङसहितको पहिलो स्मार्टफोन सन् २००९ मा ‘ग्यालेक्सी जीटी आई७५००’ सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले सन् २०११ मा ग्यालेक्सी नोट लाइनअप बजारमा ल्यायो । त्यस्तै सामसङले सन् २०१० तिर ग्यालेक्सी एस सिरिजको फोन ल्याएको थियो ।

लेखक जेफ्री केनले आफ्नो पुस्तक सामसङ राइजिङमा उल्लेख गरेअनुसार कम्पनीले आफ्नो ब्रान्डमा राखेको शब्द ग्यालेक्सी ताराबाट प्रभावित भएर राखेको होइन । टर्लाटो वाइन्स (Terlato Wines) बाट प्रभावित भएर ग्यालेक्सी राखिएको उनको तर्क छ ।

केनका अनुसार पूर्व सामसङ अधिकृत ‘एड हो’लाई ‘ग्यालेक्सी’ भनिने उक्त वाइन मन पर्थ्यो । त्यसबाहेक उक्त नाम प्रिमियम लागेकाले उनले आफ्ना हाई-इन्ड तथा प्रिमियम डिभाइसमा उक्त नाम प्रयोग गर्ने योजना बनाएका थिए । 

त्यसैले सबैभन्दा चर्चितमध्येको नाम ‘ग्यालेक्सी’ ताराबाट नभइ एउटा वाइनको नामबाट प्रभावित भएर राखिएको शब्द थियो । सन् १९६९ देखि यो कम्पनीले सक्रिय रूपमा विद्युतीय उपकरण बनाउन थालेको थियो । यसले विशेषगरी ल्यापटप, ट्याब्लेट, प्रोसेसर, डिशवासर, ओभन, रेफ्रिजेरेटर लगायत उत्पादन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८० १५:४४