close

युट्युब सित्तैमा हेर्नु र पैसा तिरेर हेर्नुमा कत्तिको छ फरक ?

टेकपाना टेकपाना

माघ २८, २०८० १६:३१

युट्युब सित्तैमा हेर्नु र पैसा तिरेर हेर्नुमा कत्तिको छ फरक ?

काठमाडौं । तपाईंले युट्युबमा भिडिओ हेरिरहँदा प्रिमियमको सब्स्क्रिप्सन लिनुहोस् भनिएको विज्ञापन पक्कै देख्नुभएको होला । भिडिओ डाउनलोड गर्न खोज्नुभयो वा उच्च क्वालिटीमा भिडिओ हेर्न खोज्नुभयो भने पनि युट्युबले तपाईंलाई प्रिमियम सब्स्क्रिप्सन लिन अनुरोध गरिरहेको हुन्छ ।

हुन त विश्वका अधिकांश भागमा युट्युबको प्रिमियम सब्स्क्रिप्सन सेवा उपलब्ध भइसकेको छ । विकसित र विकासोन्मुख देशमा युट्युब सब्स्क्रिप्सनको शुल्क पनि फरक छ । नेपालमा एक महिनाको निःशुल्क ट्रायल लिएर मासिक ३.४९ डलर (करिब ४६२ रुपैयाँ) लाग्छ । अन्य देशमा भने विद्यार्थीका लागि प्रति महिना औसत ७.९९ डलर, व्यक्तिका लागि १३.९९ डलर र पाँच जनाको परिवारका लागि २२.९९ डलर तिर्नुपर्ने हुन्छ । 

विज्ञापन आउँदैन

युट्युब प्रिमियमको सब्स्क्रिप्सन लिँदा तपाईंले विज्ञापन हेरिरहनु पर्दैन । कतिपय भिडिओ हेर्दा तपाईंको ध्यान त्यसैमा केन्द्रित भइरहेको हुन्छ । तर, झ्याप्प स्किप गर्न नमिल्ने विज्ञापन आइदिंदा ध्यान खलबलिन्छ । विशेषगरी अध्ययन सामग्री हेर्दा वा त्यस्तै विशेष भिडिओ हेर्दा बीचमा बजिदिने विज्ञापनले तपाईंको युट्युब अनुभव खल्लो बनाउँछ ।

त्यस्तै युट्युब फिडमा पनि विज्ञापन आइरहेका हुन्छन् । कतिपय विज्ञापन तपाईंलाई काम लाग्ने किसिमकै हुन्छन् । तर, कतिपय यस्ता विज्ञापन हुन्छन् जसले अनावश्यक रूपमा आफ्नो एप डाउनलोड गर्न प्रेरित गरेका हुन्छन् । त्यस्तो एप डाउनलोड गर्दा तपाईंलाई कुनै फाइदा हुँदैन । बरु उल्टै त्यस्तो एपले तपाईंको डेटा लिएर जान्छ । त्यसैले युट्युबको प्रिमियम सेवा लिंदा तपाईंले कहीं कतै पनि विज्ञापन हेर्नुपर्दैन । 

भिडिओ डाउनलोड 

युट्युबमा सबै भिडिओ डाउनलोड गर्न मिल्दैनन् । कतिपय क्रियटरले भिडिओ अफलाइन डाउनलोडका लागि उपलब्ध गराएका हुँदैनन् । तर, प्रिमियम सेवा लिनु भएको छ भने तपाईंले जुनसुकै भिडिओ डाउनलोड गरेर राख्न सक्नुहुन्छ, जसले गर्दा डिभाइसमा इन्टरनेट चलेको छैन भने पनि डाउनलोड गरेका भिडिओ निर्धक्क हेर्न सक्नुहुन्छ । मोबाइलमा मात्र नभई युट्युबको वेब एपमा पनि यो सेवा प्रयोग गर्न सकिन्छ । 

त्यसबाहेक प्रियमियम सब्स्क्रिप्सन लिनु भएको छ भने तपाईंले उच्च क्वालिटीमा भिडिओ डाउनलोड गर्न सक्नुहुन्छ । यदि तपाईंलाईं पछि कुन भिडिओ डाउनलोड गर्ने भन्ने लागेको छ भने युट्युबले तपाईंको आवश्यकतालाई मध्यनजर गर्दै आफैं स्वतः भिडिओ डाउनलोड गरिदिन्छ । 

युट्युब म्युजिक प्रिमियम 

युट्युब प्रिमियम लिनु भएको छ भने तपाईंलोे युट्युब म्युजिक प्रिमियम पनि प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईं मासिक १०.९९ डलर तिरेर स्पोटिफाई प्रयोग गरिरहनु भएको छ भने युट्युब म्युजिक प्रिमियमले स्पोटिफाईको आवश्यकता घटाइदिन सक्छ ।

युट्युब म्युजिक प्रिमियम युट्युबको म्युजिक स्ट्रिमिङ प्लेटफर्म हो । यसका अधिकांश फिचरहरू स्पोटिफाईका जस्तै छन् । यसमा विशेषगरी म्युजिक डाउनलोड गर्ने सुविधा, रेडिओ स्टेसन, पोडकास्ट, इयर्ली रिक्याप लगायतका फिचर छन् । 

युट्युब म्युजिक प्रिमियमले तपाईंको युट्युबमा पनि पहुँच पाएको हुन्छ । त्यसबाट यो प्लेटफर्मले लाइभ पर्फमेन्स, रिमिक्स लगायत अन्य विशेषता उपलब्ध गराउँछ । त्यस्तै यो एपलाई ब्याकग्राउन्डमा पनि प्रयोग गर्न सकिन्छ । तपाईंले युट्युबमा म्युजिक प्ले गरेर अन्य एपहरू प्रयोग गर्न सक्नुहुन्छ । 

यदि तपाईं युट्युबको प्रिमियम संस्करणको पहुँच पाउन चाहनु हुन्छ भने प्लेस्टोर तिर केही एपहरू उपलब्ध छन् । त्यसमध्येको एउटा एप हो, प्ले ट्युब । यो एपलाई कुनै पनि डेटा दिइरहन पर्दैन ।

तपाईंले सुरुमा केही सेकेन्डको विज्ञापन हेरिसकेपछि युट्युबको प्रिमियम सेवाको मजा यो एपबाट लिन सक्नुहुन्छ । एन्ड्रोइड प्रयोगकर्ताले एप डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८० १६:३७