close

सामसङलाई पछ्याउँदै एप्पल, आईफोन १६ मा आकर्षक एआई फिचरहरू दिने

टेकपाना टेकपाना

फागुन ५, २०८० १८:४२

सामसङलाई पछ्याउँदै एप्पल, आईफोन १६ मा आकर्षक एआई फिचरहरू दिने

काठमाडौं । बजारमा हालै आएका सामसङ ग्यालेक्सी एस२४ का सबै मोडेल एआई फिचरले भरिभराउ छन् । एस२४ मा फोनबाट खिचेका फोटो र भिडिओलाई थप स्तरीय बनाउनेदेखि लाइभ ट्रान्सलेट, इन्टरप्रेटर, च्याट असिस्ट, नोट असिस्ट, ट्रान्सक्रिप्ट, एन्ड्रोइड अटो, सर्कल टु सर्च जस्ता आकर्षक एआई फिचरहरू दिइएको छ ।

आफ्नो डिभाइसमा एआई एकीकृत गर्ने सन्दर्भमा एप्पल सामसङभन्दा पछि छ । अब भने आईफोन १६ सँगै एआईमा सामसङ र अन्य कम्पनीहरूलाई उछिन्ने तयारीमा एप्पल लागेको छ ।

ताइवानी साइट इकोनोमिक डेली न्युज उद्धृत गर्दै एप्पल सम्बन्धी लेख्ने नाइन टू फाइभ म्याकले आईफोन १६ मा एआई फिचर ल्याउन कम्पनीले काम गरिरहेको जनाएको छ । यसका लागि एप्पलले आईफोनको नयाँ सिरिज (आईफोन १६) मा ए१८ चिपसेट प्रयोग गर्नसक्ने सम्भावना छ ।

यदि एप्पलले त्यसो गरे उक्त चिपसेटमा आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा हालिएको ए१७ चिपको तुलनामा थप शक्तिशाली न्यूरल इन्जिन राखिने छ । किनकि आईफोन १६ मा एआई फिचर ल्याउन एप्पलले ए१७ को न्यूरल इन्जिनमा कोर  (सानो प्रकारको प्रोसेसर)हरूको संख्या बढाउनु अनिवार्य जस्तो हुने बताइएको छ ।

न्यूरल इन्जिन एप्पलको चिपसेटको एक महत्त्वपूर्ण भाग हो । एआई तथा मसिन लर्निङ सम्बन्धी काम गराउन यसलाई डिजाइन गरिएको छ । त्यसैले एआईमा एप्पललाई अघि बढाउन यसको भूमिका महत्त्वपूर्ण हुनेछ ।

यद्यपि ए१८ को न्यूरल इन्जिनमा कति ओटा कोर थपिने छन् भनेर खुलाइएको छैन । सबैभन्दा पछिल्लो चिपसेट ए१७ प्रोमा १६ ओटा कोर रहेका छन् । त्यसका आधारमा ए१८ मा केही बढी कोर हुन सक्छन् ।

एप्पलले आईफोन १२ पछि आफ्नो न्यूरल इन्जिनमा कोरको संख्या अहिलेसम्म भने बढाएको छैन । यसकारण पनि आईफोनमा एआई फिचर ल्याउन एप्पलले यो परिवर्तन गर्नसक्ने सम्भावना छ ।

एउटै संख्याको कोर भएपनि १७ प्रोको न्यूरल इन्जिन ए१६ बायोनिकको भन्दा शक्तिशाली भएको उल्लेख गर्दै कोरको संख्याले मात्र सबै कुरा नहुने इकोनोमिक डेलीले लेखेको छ । तर आईफोन १६ मा एआई फिचर ल्याउन एप्पलले तयारी गरिरहेको भने बुझ्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८० १९:०