close

५ हजार नक्कली आईफोन मर्मत गर्न पठाएर ३९ करोड रुपैयाँ बराबरको सक्कली आईफोन लिएपछि...

टेकपाना टेकपाना

फागुन ९, २०८० १२:९

५ हजार नक्कली आईफोन मर्मत गर्न पठाएर ३९ करोड रुपैयाँ बराबरको सक्कली आईफोन लिएपछि...

काठमाडौं । बिग्रिएको फोनको सट्टा नयाँ फोन पाउने आशले एप्पल रिपेयर सेन्टरमा नक्कली आईफोन पठाएको आरोपमा दुई जना चिनियाँ नागरिक दोषी ठहरिएका छन् । अमेरिकास्थित कोलम्बिया डिस्ट्रिक्ट काेर्टले सक्कली फोन पाउन ती युवकहरूले पाँच हजार नक्कली फोन पठाएको भन्दै दोषी ठहर गरेको हो ।

दोषी ठहर हुनेमा ३३ वर्षीय ह्याओसान सन र पङ्गफेई छिई रहेका छन्  । यी चिनियाँ नागरिकहरूलाई बढीमा २० वर्षसम्मको जेल सजाय हुनसक्ने ब्लुमबर्गले उल्लेख गरेको छ ।

उनीहरूले सन् २०१७ देखि नै हङकङदेखि नक्कली आईफोन ल्याएर त्यसरी ठगी गर्ने गरेको पाइएकाे छ । सात वर्षको अवधिमा उनीहरूले पाँच हजार बढी नक्कली आईफोन साटेर लिएको पुष्टि भएको छ ।

ती चिनियाँ नागरिकले मेल प्रणाली प्रयोग गरेर एप्पललाई धोका दिने योजना बनाएको र धोका दिएको कसूरमा दोषी ठहर गरिएको छ । उनीहरूले त्यसरी नक्कली फोनको सट्टा सक्कली आईफोन पाउन ती फोनको सिरियल नम्बर मात्र नक्कली बनाएनन् । उनीहरू हरेक पटक उक्त कार्य गर्न आफ्नो नक्कली नाम पठाउँथे ।

यसरी उनीहरूले सन् २०१७ देखि झन्डै ३० लाख डलर (करिब ३९ करोड ७६ लाख रुपैयाँ) बराबरको ठगी गरेकाे पाइएकाे छ । दोषी भएका दुई युवक यसअघि पनि आईफोन र आईप्याड साटेको आरोपमा ४१ महिना जेल बसेको टाइम्स अफ सन डिएगोले जनाएको छ ।

उनीहरूले साटेर ल्याएका सक्कली आईफोन विदेशी नागरिकलाई बेच्ने गरेको पनि खुलेको छ । कोलम्बिया डिस्ट्रिक्ट काेर्टका न्यायाधीश टिमोथी जे केलीले दोषी ठहर भएका यी युवालाई २१ जुनमा सजाय तोक्ने निर्णय गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८० १२:२२