close

गुगल असिस्टेन्टलाई विस्थापित गर्दै जेमिनाई

टेकपाना टेकपाना

फागुन ९, २०८० १३:१४

गुगल असिस्टेन्टलाई विस्थापित गर्दै जेमिनाई

काठमाडौं । गुगलले हालै मात्र जेमिनाई एन्ड्रोइड एप सार्वजनिक गरेको छ । केही सीमित क्षेत्रका प्रयोगकर्तामाझ मात्र उपलब्ध उक्त एपले एआई हेल्परका रूपमा ‘गुगल असिस्टेन्ट’ नभई ‘जेमिनाई’लाई डिफल्ट बनाउन अप्सन दिएको छ ।

जेमिनाई गुगलको अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम हो । गुगल असिस्टेन्ट आवाजकै सहायताले मोबाइल फोन नियन्त्रण गर्न सघाउने गुगलको सिस्टम हो ।

जेमिनाईको उदयसँगै गुगलले असिस्टेन्टलाई विस्थापित गर्ने तयारी गरेको बुझिएको छ । विशेषगरी असिस्टेन्टलाई स्तरीय बनाउन र त्यसमा उपयुक्त नयाँ फिचरहरू समावेश गर्न कम्पनीले नाम परिवर्तन गर्न खोजिरहेको बताइएको छ ।

यद्यपि कम्पनीले असिस्टेन्ट र जेमिनाईबारे कुनै आधिकारिक धारण दिएको छैन । यदि तपाईंले पहिले नै गुगल असिस्टेन्टको एप इन्स्टल गरिसक्नु भएको छ भने त्यसलाई अपडेट गर्दा त्यसको नाम जेमिनाई भएको देख्न सक्नुहुन्छ ।

त्यस्तै नयाँ प्रयोगकर्ताले पनि असिस्टेन्ट डाउनलोड गर्दा त्यसमा जेमिनाईको इन्टरफेस भएको देख्न सक्नेछन् । कतिपय क्षेत्रमा असिस्टेन्ट एपको आइकन र नाम दुवै परिवर्तन भएको देख्न सकिन्छ भने कतिपयमा भित्र इन्टरफेस मात्र परिवर्तन भएको छ । 

दुई ओटै एप डाउनलोड गरेको अवस्थामा फोनको एप लिस्टमा जेमिनाई एप र गुगल असिस्टेन्टको लोगो र आइकन उस्तै भएको देख्न सकिन्छ । जुन जेमिनाईको एप खोल्दा एप नखुलेर ‘हाउ क्यान आई हेल्प यू’को पपअप बार देखिन्छ, त्यो असिस्टेन्ट हो भन्ने थाहा पाउन सकिन्छ । पहिलो पटक असिस्टेन्ट एप खोलेको छ भने त्यसमा पनि जेमिनाई समावेश भएको भन्ने देख्न सकिन्छ ।

गुगलले यसअघि आफ्नो चर्चित एआई टुल बार्डको नाम परिवर्तन गरेर जेमिनाई राखेको थियो । यसअघि बार्ड डट गुगल डकटम साइटबाट उक्त एआई टुल प्रयोग गर्न सकिन्थ्यो भने अहिले उक्त साइट रिडाइरेक्ट भएर जेमिनाई डट गुगल डटकम वेबसाइट रिडाइरेक्ट भइरहेको छ ।

जेमिनाईको सामान्य भर्सन निःशुल्क प्रयोग गर्न सकिन्छ भने प्रिमियम भर्सनका लागि मासिक १९.९९ डलर तिरेर प्रयोग गर्न सक्छन् । उता जेमिनाईको कडा प्रतिद्वन्द्वी ओपनएआईको च्याटजीपीटी प्लसका लागि मासिक २० डलर तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८० १३:२७