close

कस्टमर केयरका कर्मचारीलाई सघाउन च्याटजीपीटी जस्तै टुल ल्याउँदै एप्पल

टेकपाना टेकपाना

फागुन ११, २०८० १४:३६

कस्टमर केयरका कर्मचारीलाई सघाउन च्याटजीपीटी जस्तै टुल ल्याउँदै एप्पल

 

काठमाडौं । एप्पलले आन्तरिक रूपमा च्याटजीपीटी जस्तो जेनेरेटिभ एआई टुल परीक्षण गरेको छ । कस्टमर केयर सपोर्टमा रहेका कर्मचारीलाई प्राविधिक रूपमा ग्राहकसँग कुराकानी सघाउने उद्देश्यले एप्पलले यस्तो टुल ल्याउन लागेको हो । पाइलट प्रोग्राम अन्तर्गत अहिले यो टुल केही सीमित कस्टमर केयर सपोर्ट एड्भाइजरलाई उपलब्ध गराइएको छ ।

म्याक र्‍युमर्स प्राप्त जानकारी अनुसार ‘आस्क’ नाम दिइएको सो टुलले ग्राहकबाट आएको कुनै पनि प्राविधिक प्रश्नलाई बुझेर स्वचालित रूपमा त्यसको जवाफ दिनेछ । त्यही जवाफलाई आधार मान्दै एड्भाइजरले अनलाइन वा कलमार्फत ग्राहकलाई उचित सुझाव दिन सक्नेछन् ।

कम्पनीका अनुसार ‘आस्क’ले एप्पलको आन्तरिक नलेज बेसबाट उपयुक्त जवाफ तयार पार्नेछ । एड्भाइजरले सो जवाफ कत्तिको उपयोगी वा अनुपयोगी छ भनेर रेटिङ गर्न सक्नछेछन् । त्यस्तै एड्भाइसले ‘आस्क’सँग केही सान्दर्भिक फलोअप प्रश्नहरू पनि राख्न सक्नेछन् ।

कम्पनीले निकट भविष्यमा यो टुल सबै एड्भाइसजलाई उपलब्ध गराउने जनाएको छ । यसअघि कस्टमर केयर सपोर्टका एड्भाइजरले परम्परागत तरिकाले प्रश्नको जवाफ खोजेर ग्राहकलाई भरपर्दो सुझाव दिन्थे । यस्तोमा जटिल समस्याको जवाफ छिटो दिन समस्या थियो ।

अब भने ‘आस्क’ टुलले छिटोभन्दा छिटो भरपर्दो जवाफ दिन सक्ने बताइएको छ । आस्कलाई कस्टमर केयर सपोर्ट एड्भाइजेले, “ग्राहकले आफ्नो डिभाइसमा आईओएस १६ अपडेट गर्न सक्नुभएन । यसका लागि उहाँले के गर्नुपर्ला ?” भनेर प्रश्न राख्न सक्नेछन् । त्यसैको आधारमा आस्कले उपयुक्त जवाफ उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

यो वर्ष एप्पलले जेनेरेटिभ एआईलाई बढी प्राथमिकता दिने अपेक्षा गरिएको छ । कम्पनीले आईओएस १८ मा सिरी, स्पोटलाइट, मेसेज, हेल्थ, नम्बर, पेज, किनोट र अन्य एपमा जेनेरेटिभ एआई समावेश गर्न लागेको बताइएको छ । एप्पलका सीईओ टिम कुक पनि कम्पनी जेनेरेटिभ एआई फिचरमा काम गरिरहेको बताउँदै आएका छन् ।

उनका अनुसार जेनेरेटिभ एआईबारे थप जानकारी विस्तारै उपलब्ध गराउने उनको भनाइ छ । आईओएस १८ यो वर्ष जुनमा हुने डब्लुडब्लुडीसी डेभलपर कन्फेरेन्समा सार्वजनिक अपेक्षा गरिएको छ । त्यसपछि सेप्टेम्बरमा डिभाइसमा सो अपडेट उपलब्ध हुनेछ । 

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १४:३६