close

एप्पलले सार्वजनिक गर्‍यो आफ्नै स्पोर्ट्स एप, स्कोरसँगै बेटिङ पनि !

टेकपाना टेकपाना

फागुन ११, २०८० १५:४२

एप्पलले सार्वजनिक गर्‍यो आफ्नै स्पोर्ट्स एप, स्कोरसँगै बेटिङ पनि !

काठमाडौं । एप्पलले आईफोनका लागि एप्पल स्पोर्ट्स नामक नयाँ एप सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि स्कोर चेक गर्ने, टिमको स्ट्याट, बेटिङको सम्भावना र मुख्य खेलकुद लिगहरू समेट्ने लगायतका लागि 'वन-स्टप' समाधानका लागि यो एप ल्याएको हो ।

बुन्डेसलिगा, लालिगा, लिगा एमएक्स, लिग वन र सिरिया ए समेत एपमा राखिएका छन् । यस बाहेकका अन्य सेवाहरू आगामी दिनमा थप्दै लगिने उल्लेख छ । एमएलबी, एनएफएल, एनसीएएएफ, एनडब्लूएसएल र डब्लूएनबीएका आउँदा सिजनहरू पनि एपमा उपलब्ध हुने एप्पलले बताएको छ ।

लाइभ स्पोर्ट्समा संलग्न हुने एप्पलको प्रयास अन्तर्गत यो एप सार्वजनिक भएको ठानिएको छ । कम्पनीले गत वर्ष एमएलएस सिजन पास नामक सकर स्ट्रिमिङ सर्भिस ल्याएको थियो । त्यसले सन् २०२२ देखि फ्राइडे नाइट बेसबल पनि प्रसारण गरिरहेको छ ।

एपले प्रयोगकर्तालाई खेलको प्रत्यक्ष प्रसारण हेर्न सोझै एप्पल टिभी प्लस अथवा सपोर्ट गर्ने अन्य स्ट्रिमिङ सेवामा जान सक्ने गरी खेलकुद स्ट्रिमिङ सेवालाई प्रत्यक्ष रूपमा जोडेको छ ।

यो एप आफैंले बेटिङ अर्थात् सट्‍टेबाजी सपोर्ट गर्दैन र प्रयोगकर्ताले चाहेको खण्डमा बेटिङ सम्भावना बन्द गर्न सक्ने एप्पलले बताएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १५:४२