close

माइक्रोसफ्टले एप्पललाई बेच्न खोजेको थियो ‘बिङ’ सर्च इन्जिन !

टेकपाना टेकपाना

फागुन १५, २०८० १६:३५

माइक्रोसफ्टले एप्पललाई बेच्न खोजेको थियो ‘बिङ’ सर्च इन्जिन !

काठमाडौं । माइक्रोसफ्टले सन् २०१८ मा एप्पललाई सर्च इन्जिन ‘बिङ’ बिक्री गर्न खोजेको तथ्य बाहिरिएको छ । गत शुक्रवार सार्वजनिक भएको अमेरिकी न्याय विभागको एक कागजातमा यस्तो तथ्य फेला परेको हो । 

सीएनबीसीका अनुसार गत महिना अदालतमा वेब सर्च इन्जिन उद्योगमा गुगलको एकाधिकार रहेको आरोप लगाउँदै अमेरिकी न्याय विभागमा मुद्दा परेको थियो । गुगलले त्यसको प्रतिकार गर्दै माइक्रोसफ्टले सन् २०१८ मा बिङ बिक्री गर्न खोजेको जनाएको छ । 

गुगलले अदालतमा पठाएको मुद्दामा माइक्रोसफ्टले एप्पललाई सफारीमा बिङ डिफल्ट सर्च इन्जिन बनाउन बारम्बार प्रस्ताव गर्दै आएको उल्लेख छ । गुगलका अनुसार माइक्रोसफ्टले एप्पललाई सन् २००९, २०१३, २०१५, २०१६, २०१८ र २०२० मा खरिद गर्न प्रस्ताव गरेको थियो । तर, एप्पलले बिङ गुणस्तरीय नभएको भन्दै खरिद गर्न अस्वीकार गरेको थियो । 

“एप्पलले गुगल र बिङमध्ये गुणस्तरका हिसाबले गुगल नै अगाडि रहेको निष्कर्ष निकालेको छ । त्यस्तै सफारी प्रयोगकर्ताका लागि उच्च विकल्प पनि गुगल नै हो । हो, यही प्रतिस्पर्धा हो,” गुगलले भनेको छ । 

त्यस्तै बिङले सन् २०१८ मै माइक्रोसफ्टले बिङको गुणस्तर सुधारका लागि एप्पललाई सहकार्य गर्न अनुरोध गरेको थियो । गुगलका अनुसार माइक्रोसफ्टको मुख्य लक्ष्य नै एप्पललाई बिङ बेच्ने वा बिङसँग सम्बन्धित जोइन्ट भेन्चर स्थापना गर्ने थियो । 

एप्पलको सफारीमा गुगललाई डिफल्ट सर्च इन्जिन बनाउन यी दुई कम्पनीबीच सहकार्य भएको छ । यसका लागि गुगलले सन् २०२१ मा एप्पललाई २६ अर्ब डलर तिरेको सीएनबीसीले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८० १६:५९