close

पहिलो पटक सावर्जनिक भयो साओमीको बिजुली कार, १५ मिनेटको चार्जले ५१० किलोमिटर रेञ्ज दिने !

टेकपाना टेकपाना

फागुन १६, २०८० १७:३१

पहिलो पटक सावर्जनिक भयो साओमीको बिजुली कार, १५ मिनेटको चार्जले ५१० किलोमिटर रेञ्ज दिने !

काठमाडौं । साओमीले गत वर्ष घोषणा गरेको बिजुली कार पहिलो पटक सार्वजनिक भएको छ । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मा साओमीले बिजुली कार ‘एसयू सेभेन’ सार्वजनिक गरेको हो ।  

‘पर्फमेन्स सेडान’ को रूपमा चिनाइएको कार पूरा विद्युतीय प्लेटफर्ममा बनाइएको छ, जुन स्पोर्टी लुक्समा देखिन्छ । कम्पनीले एमडब्लूसी कार्यक्रममा नीलो रङमा यो कार प्रदर्शनी गरेको छ ।

चार ओटा ढोका भएको कारमा साओमीको आफ्नै विद्युतीय मोटर प्रयोग गरिएको छ । यस मोटरले २.७८ सेकेन्डमा ६० माइल (९६.५ किलोमिटर) प्रति घण्टाको गति पकड्ने बताइएको छ ।

त्यस्तै कारमा १०१ किलोवाटको ब्याट्री राखिएको छ, जसले अधिकतम ४९७ माइल (७९९.८४ किलोमिटर)को रेञ्ज दिने कम्पनीको दाबी छ ।  

कारको अर्को आकर्षक फिचर फास्ट चार्जिङ हो । कम्पनीको दाबी अनुसार फास्ट चार्जरबाट कारलाई १५ मिनेटमा ३१७ माइल (५१० किलोमिटर) रेञ्ज दिनेगरी चार्ज गर्न सकिन्छ । 

कारभित्र १६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले तथा ७.१ इन्चको घुमाउन मिल्ने ड्यासबोर्ड रहेको छ । कारको बाहिरी भागमा विभिन्न प्रकारका रडार र लिडर सेन्सर राखिएको छ, जसले स्वचालित ड्राइभिङमा सहयोग गर्ने बताइएको छ । 

कम्पनीले कहिलेदेखि कार बिक्री सुरू हुने र मूल्य कति पर्छ भन्नेबारे केही जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८० १७:५२