close

फेसबुक पोस्टमा कमेन्ट गर्दा ध्यान दिनैपर्ने कुरा

टेकपाना टेकपाना

फागुन १९, २०८० १६:१०

फेसबुक पोस्टमा कमेन्ट गर्दा ध्यान दिनैपर्ने कुरा

काठमाडौं । मानिसहरू सामाजिक सञ्जालका विभिन्न माध्यममा विभिन्न तरिकाले सक्रिय भइरहेका हुन्छन् । कोही व्यक्ति पोस्ट मात्र राख्ने, तर त्यहाँ कुनै प्रतिक्रिया नजनाउने किसिमका हुन्छन् । कतिपय भने आफू बिरलै पोस्ट राख्ने, तर अन्य पोस्टमा बढी अन्तर्क्रिया गर्ने किसिमका हुन्छन् । 

सामाजिक सञ्जालमा अन्तर्क्रिया गर्न सहज हुने भएकाले नै हामीमध्ये अधिकांश प्रयोगकर्ता यी प्लेटफर्ममा समय बिताइरहेका हुन्छौं । त्यसमध्ये पनि कतिपय विषयमा प्रतिक्रिया दिएर वा पोस्ट गरेर हामी चर्चामा आइरहेका हुन्छौं ।

यसरी विभिन्न पोस्टमा रियाक्ट, कमेन्ट वा शेयर गर्नाले ती पोस्ट अन्य व्यक्तिहरूसम्म पुगिरहेका हुन्छन् । सामाजिक सञ्जालको भाषामा भन्नुपर्दा यसरी रियाक्ट, कमेन्ट वा शेयर गरेर अन्य व्यक्तिसम्म पुर्‍याउनुलाई ‘बुस्ट’ गर्नु भन्ने बुझिन्छ । अर्थात् तपाईंले त्यसरी सार्वजनिक रूपमा गरेको कमेन्ट अन्य थुप्रै व्यक्तिसम्म पुग्छ र उनीहरूले ती कमेन्ट हेर्न पाउँछन् ।  

सबै अकाउन्टका पोस्टमा गरिएका कमेन्टहरू सबै व्यक्तिसम्म पुग्दैनन् । त्यसमा तपाईंले कस्तो पोस्टमा प्रतिक्रिया दिनुभएको छ भन्ने विषयले फरक पार्छ । सामान्यतः पब्लिक अकाउन्ट (प्रोफेसनल मोड अन गरिएका अकाउन्ट) र फेसबुक पेजका पोस्टमा कमेन्ट गर्दा त्यो कमेन्ट धेरै व्यक्तिहरूमाझ पुगिरहेको हुन्छ । कतिपय फेसबुक प्रयोगकर्ताले आफूसँग एड भएका अकाउन्टले मात्र पोस्ट देख्ने, प्रतिक्रिया जनाउने बनाएका हुन्छन् ।

त्यस्तो अकाउन्टमा पोस्ट गर्दा उक्त व्यक्तिसँग एड भएका व्यक्तिले मात्र तपाईंले कमेन्ट गरेको देख्छन् । तर, सार्वजनिक अकाउन्ट छ भने तपाईंले गरेको कमेन्ट तपाईंले चिने नचिनेका सबै व्यक्तिले देख्न सक्छन् ।

पब्लिक पोस्टमा कमेन्ट !

हुन त हामीलाई सामाजिक सञ्जालका पोस्टमा आफ्नो विचार राख्न त्यति असहज लाग्दैन । कमेन्टमै खुलेआम प्रशंसा र गाली गरिरहेका हुन्छौं । कतिपयलाई आफूले कमेन्ट गरेको कुरा आफूसँग एड भएका मानिसहरूले देख्न सक्छन् भन्ने थाहा हुँदैन ।

त्यसैले उनीहरू केही कुराको प्रवाह नगरी प्रतिक्रिया दिइरहेका हुन्छन् । कतिपयले भने यस्तो कुरा बुझ्दाबुझ्दै पनि सार्वजनिक रूपमा अनावश्यक कमेन्ट गरिरहेका हुन्छन् । 

केही महिनाअघि फेसबुक पोस्टमा कमेन्ट गरेकै भरमा नेपालको बाँके जिल्लामा धार्मिक दङ्गा मच्चिएको थियो । विस्तृतमा सो समाचार पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । त्यसबाहेक कमेन्ट गरेकै भरमा साइबर ब्युरोमा उजुरी परेका घटनाहरू पनि बेलाबखत चर्चामा आइरहेका हुन्छन् ।

तसर्थ सार्वजनिक पोस्टमा कमेन्ट गर्दा ध्यान दिनुपर्ने हुन्छ । विशेषगरी संवेदनशील विषयमा आफ्नो प्रतिक्रिया दिंदा उक्त प्रतिक्रिया कत्तिको जायज हुन्छ, त्यसले अन्य प्रयोगकर्तालाई कुनै किसिमको असर पार्छ वा पार्दैन लगायतका पक्ष केलाउनुपर्ने हुन्छ ।

व्यक्तिगत अकाउन्टमा गरेको कमेन्टले पार्ने प्रभाव

हामीले सामाजिक सञ्जालमा कस्तो प्रतिक्रिया दिन्छौं भन्ने कुराले नै हाम्रो व्यक्तित्व दर्शाएको हुन्छ । तर, सबैको हकमा यो कुरा लागू नहुन सक्छ । कोही मान्छे सामाजिक सञ्जाल र वास्तविक जीवनमा भिन्नै हुन सक्छन् । यद्यपि कसले अन्य व्यक्तिलाई कसरी मूल्याङ्कन गरेको छ भन्ने कुरा उक्त व्यक्तिमै निर्भर हुन्छ ।

हामी प्रयोगकर्ता पनि आफूले चिनेका व्यक्तिको अकाउन्टमा एउटा र सार्वजनिक अकाउन्टमा एउटा किसिमको प्रतिक्रिया दिइरहेका हुन्छौं । के तपाईंलाई थाहा छ ? अहिले तपाईंले व्यक्तिगत अकाउन्टमा कमेन्ट गर्नु भएको छ भने फेसबुकले तपाईंसँग एड भएका प्रायः सबै साथीको फिडमा तपाईंको कमेन्ट देखाइदिन्छ ।

केही समयअघि मेटाले सामान्य फेसबुक अकाउन्टलाई प्रोफेसनल अकाउन्ट बनाउन सकिने फिचर ल्याएको थियो । यो भनेको व्यक्तिगत अकाउन्टलाई सार्वजनिक अकाउन्ट बनाउनु हो ।

फेसबुकले यस्तो प्रोफेसनल मोड अन गरेको अकाउन्टको पोस्टलाई बुस्ट गर्नका लागि यस्तो सुविधा ल्याएको छ । तपाईंले कुनै व्यक्तिगत अकाउन्टमा कमेन्ट गर्नुभएको छ भने तपाईंका साथीहरूको फिडमा तपाईंले उक्त पोस्टमा कमेन्ट गर्नुभएको छ भन्ने जानकारी जाँदैन । तर, प्रोफेसनल अकाउन्टमा कमेन्ट गर्नु भएको छ भने एड भएका व्यक्तिको अकाउन्टमा तपाईंले कमेन्ट गरेको जानकारी जान्छ । 

कमेन्ट गर्दा के कुरा ध्यान दिने ?

सबैभन्दा मुख्य कुरा तपाईंले कमेन्ट गर्न लागेको अकाउन्ट प्रोफेसनल अकाउन्ट हो वा प्राइभेट अकाउन्ट हो भन्ने ख्याल गर्नुपर्ने हुन्छ । त्यसका लागि उक्त व्यक्तिको अकाउन्टमा जानुहोस् । त्यहाँ फलोअर (Follower) र फलोविङ (Following) को अप्सन देख्नुभयो भने त्यो प्रोफेसनल अकाउन्ट हो भन्ने बुझ्नुपर्छ । तर, व्यक्तिगत अकाउन्टमा भने म्युचुअल फ्रेन्ड्स र फ्रेन्ड्सको अप्सन मात्र देखाइएको हुन्छ । 

यी दुवै किसिमका अकाउन्टमा फ्रेन्ड रिक्वेस्ट पठाएर फ्रेन्ड हुन सकिन्छ । त्यसैले एड भएको व्यक्ति न हो भनेर तपाईंले पारिवारिक भावना साट्न गरेको कमेन्ट तपाईंसँग व्यावसायिक रूपमा जोडिएका व्यक्तिले देख्छन् । त्यसैले तपाईंले त्यस्ता प्रोफेसनल मोड अन भएका वा फेसबुक पेजमा कमेन्ट गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ १७:१