close

ब्ल्याकमेल गर्न किशोरीको फेसबुकका फोटो प्रयोग, परिचय लुकाउन भीपीएन

टेकपाना टेकपाना

फागुन २०, २०८० २१:५

ब्ल्याकमेल गर्न किशोरीको फेसबुकका फोटो प्रयोग, परिचय लुकाउन भीपीएन

काठमाडौं । झन्डै दुई महिनाअघि ममता शर्मा (नाम परिवर्तन) लाई फेसबुकमा एउटा अकाउन्टले ट्याग गरेको देखियो । किशोरीले नोटिफिकेसन खोलेर हेरिन् । नोटिफिकेसन हेर्नासाथ उनको होसहवास नै उड्यो । आफूले कुनै समय फेसबुकमा अपलोड गरेका फोटो अश्लील बनाएर अश्लील क्याप्सन राखेर आफूलाई ट्याग गरेर राखेको देखेपछि उनी आत्तिइन् ।

हतारहतार उनले आफ्नो बारेमा अरू कसैले ट्याग गरेर आएको त्यस्तो फोटो आफ्नी दिदीलाई देखाइन् । किशोरी दिदी पनि आफ्नी बहिनीको त्यस्तो फोटो देख्दा छाँगाबाट खसेझैं भइन् । कहिल्यै कुरै नगरेको व्यक्तिले त्यसरी आफ्नै बहिनीको फोटो अश्लील बनाएर अश्लील क्याप्सन राखेर पोस्ट गरेको देखेपछि उनी त्यसमा के गर्न सकिएला भन्ने बुझ्न खोजिन् । र, यो कुरा आफ्नो अङ्कललाई देखाइन् ।

“किशोरीले आफूले फेसबुकमा राखेको फोटो कसैले डाउनलोड गरेर अश्लील बनाई नक्कली अकाउन्टमा राखेको देखेपछि उनीहरूले आफ्नो अङ्कललाई सबै कुरा सुनाएछन्,” टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका उपनिर्देशक एसपी दीपकराज अवस्थीले भने, “त्यसपछि अङ्कल पर्नेले साइबर ब्यूरोमा उजुरी दिनुभयो ।”

ती अङ्कल पर्ने व्यक्ति उजुरी दिन आएको दिन अन्य किशोरीका अभिभावक पनि उजुरी दिन ब्यूरो पुगेका थिए । एसपी अवस्थीका अनुसार त्यहाँ आएका प्रायः किशोरीका अभिभावकको गुनासो एउटै थियो । उनीहरू आफ्नो छोरीको फोटो राखेर कसैले अश्लील क्याप्सन राखेर दुःख दिएको भन्दै उजुरी बोकेर पेस गर्न लाम लागेका थिए ।

सबैको उजुरी एउटै प्रकृतिको थियो । आरोपित व्यक्तिले फेसबुकमा राखेको फोटो डाउनलोड गरेर अश्लील बनाउने र त्यसलाई नक्कली अकाउन्टबाट पोस्ट गर्ने गरेको उनीहरूको आरोप थियो ।

कतिपयले ती व्यक्तिले अश्लील फोटो किशोरीका आफन्तलाई पनि पठाउने गरेको एसपी अवस्थीले सुनाए । ती अभिभावकले उजुरी दिएपछि प्रहरीले त्यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान सुरु गर्‍यो । अनुसन्धान गर्ने क्रममा आरोपित व्यक्तिले आफ्नो परिचय लुकाउन भीपीएन प्रयोग गर्ने गरेको पत्ता लाग्यो ।

“परिचय लुकाउन भीपीएन प्रयोग गर्ने रहेछ । तर, हाम्रो टिमले अन्य पक्षलाई विश्लेषण गरेर आरोपित व्यक्ति फेला पार्‍यो । ती व्यक्ति हुन्, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोल्खुपाखा बस्दै आएका २२ वर्षीय सुमन खत्री ।

खत्रीलाई अन्तिम पटक प्रहरीले ठमेलमा रहेको पत्ता लगाएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले  बिहीबार ठमेलबाट पक्राउ गरेको हो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको एसपी अवस्थीले बताए । 

यसअघि पीडित व्यक्ति आफैंले पठाएको फोटो दुरुपयोग गरेका घटना देखिएका थिए । तर, यो घटनामा भने आरोपित व्यक्तिले फेसबुकमा अपलोड गरेका फोटो नै डाउनलोड गरेर एडिट गरी अश्लील बनाउने र त्यसैको आडमा ब्ल्याकमेल गर्ने गरेको देखिएको छ ।

आरोपित खत्रीले कुन उद्देश्यले त्यसरी अश्लील फोटो बनाएर ब्ल्याकमेल गरेका थिए भन्ने खुलेको छैन । एसपी अवस्थीले यस्ता घटनाबाट जोगिन अकाउन्ट सुरक्षित राख्न, फोटो पब्लिक नराख्न, प्रोफाइल लक गर्न, अनावश्यक व्यक्तिलाई एड नगर्न सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८० १२:४८