काठमाडौं । अब प्रोम्ट (यस्तो सङ्केत वा निर्देशन जसले एआईलाई के काम गर्नेुपर्ने भन्ने बताउँछ) लेखेकै भरमा वेबसाइट बनाउन सकिने भएको छ । अनलाइन वेबसाइट बिल्डर ‘विक्स’को नयाँ एआई च्याटबटले लेखिएका अक्षरको आधारमा वेबसाइट तयार पारिदिने भएको हो ।
एआई च्याटबटबाट वेबसाइट बनाउने सुविधा नि:शुल्क रूपमा उपलब्ध रहेको छ । तर वेबसाइटमा किनबेचको विकल्प राख्नु पर्यो वा ‘विक्स’को डोमेन नेम हटाएर आफ्नो कस्टम डोमेन राख्न चाहेको खण्डमा भने तपाईंले प्रिमियम प्लानमा अपग्रेड गर्नु पर्ने हुन्छ ।
विक्सबाट वेबसाइट बनाउन तपाईंले 'क्रियट विथ एआई' बटनमा क्लिक गर्नु पर्ने हुन्छ । त्यसका लागि यहाँ क्लिक गर्न पनि सक्नु हुन्छ । त्यसपछि यहाँ तपाईंले केही प्रश्नको उत्तर दिनु पर्ने हुन्छ । जस्तै: वेबसाइटको नाम के राख्ने, तपाईंका उद्देश्य केके छन्, तपाईं के हो आदि ।
त्यसकै आधारमा प्लेटफर्मले वेबसाइट तयार पारिदिन्छ । जसलाई तपाईंले आफ्नो अनुकूलता अनुसार सम्पादन (कस्टमाइज) गर्न सक्नुहुन्छ ।
वेब डेभलपमेन्ट सम्बन्धी सीप नभएका व्यक्तिका लागि विक्सको यो विकल्प उपयोगी हुने बताइएको छ ।