close

नेपाली बजारमा एक्स-एजका दुई नयाँ स्मार्टफोन, मूल्य कति?

टेकपाना टेकपाना

फागुन २८, २०८० १९:२०

नेपाली बजारमा एक्स-एजका दुई नयाँ स्मार्टफोन, मूल्य कति?

कामाडौं । एक्सएज (Xage) ले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडेल सार्वजनिक गरेको छ । कम्पनीले बजेट फोनको रूपमा एक्सएज लिप र एक्सएज स्नाप फोन सार्वजनिक गरेको हो ।

नेपाली बजारमा एक्स-एज लिपको मूल्य ११ हजार र एक्सएज स्नापको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ । यी दुवै फोनमा खासै भिन्नता छैन । तपाईंले फोनका फिचर र आफ्नो आवश्यकता हेरेर यी मध्ये कुनै एक खरिद गर्न सक्नुहुन्छ । 

एक्स-एज लिपको लुक्स चित्त बुझ्दो छ । यसमा प्लास्टिक बडी, ६.५६ इन्च आईपीएस डिस्प्ले, १३ मेगापिक्सेलको मुख्य क्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो लेन्स र पाँच मेगापिक्सेलको सेल्फी क्यामेरामा पाउन सकिन्छ । 

फोनको यूआई ठिकठाक र चलाउन पनि सहज छ । यसको क्यामेराबाट अति राम्रो फोटो आउँछ भन्ने अपेक्षा गर्न सकिन्न । तर पर्याप्त प्रकाश भएको खण्डमा औसत फोटो खिच्न सकिन्छ । जस्तै: विद्यार्थीका लागि नोटको फोटो खिच्न, महत्त्वपूर्ण भिडिओ खिच्न यसको क्यामेराले धोका दिंदैन । 

फोनको क्यामेरामा पानोरमा, प्रो, भिडिओ, टाइमल्याप्स, म्याक्रो लगायतका विभिन्न मोड छन् । भिडिओको कुरा गर्दा मुख्य क्यामेराले ३० एफपीएसमा फुच एचडी (१०८० पी) भिडिओ खिच्न सक्छ । सेल्फी क्यामेराले भने ३० एफपीएसमा ७२० रेजुलेसनको भिडिओ खिच्न सक्छ । फोनको आकर्षक फिचरको रूपमा सुरक्षाका लागि साइडमाउन्ट गरिएको फिंगरप्रिन्ट दिइएको छ ।

प्रोसेसर भने यसमा युनिएसओसी एससी ९८६३ ए (UNISOC SC9863A) दिइएको छ । जुन एउटा काम चलाउ प्रोसेसर हो, यसले फोनबाट गरिने सामान्य कामहरू गर्न सक्छ ।

फोनमा २.४ गिगाहर्जको मात्र वाईफाई सपोर्ट छ । यसमा गेम खेल्दाको अनुभव पनि ठिकठाक नै पाउन सकिन्छ । फोनमा चार जीबी र्‍याम र ६४ जीबी स्टोरेज दिइएको छ ।

एक्स-एजको अर्को फोन स्नापमा भने प्रिमियम फोनको जस्तै टेक्स्चर, स्तरीय बनावट गुणस्तर, तीन ओटा क्यामेराको सेटअप छ । जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, आठ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र दुई मेगापिक्सेलको डेफ्थ सेन्सर छ । 

फोनमा ६.८२ इन्चको आईपीएस एलसीडी पञ्च होल डिस्प्ले छ । जसमा आठ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ । मूल्य अनुसार फोनमा भएका क्यामेराको गुणस्तर ठिकठाक नै मान्नुपर्छ ।

एउटा बजेट फोनको नवप्रवेशी मोडेलबाट उत्कृष्ट क्यामेरा गुणस्तर पनि अपेक्षा गर्न सकिन्न । क्यामेरामा पानोरमा, प्रो, भिडिओ र टाइमल्याप्स मोड छन् । 

अर्को मोडेल लिपमा नभएका फिचरको रूपमा यसमा अल्ट्रा वाइड क्यामेरा र अल्ट्रा वाइड भिडिओ पनि छ । भिडिओको कुरा गर्दा एक्स-एज लिप जस्तै मुख्य क्यामेराले फुल एचडी ३० एफपीएसमा र सेल्फी क्यामेराले ७२० रेजुलेसनमा ३० एफपीएस भिडिओ रेकर्ड गर्न सक्छ ।

फोनको यूआई पनि प्रयोगकर्ता मैत्री नै छ । जोकोहीले एकै छिनको प्रयोगमा पनि फोनलाई मजाले चलाउन सक्छन् । यसका साथै फोनमा १२० हर्जको रिफ्रेश रेट दिइएको छ । यसमा प्रोसेसर भने युनिएसओसी टी ६०६ (UNISOC T606) प्रयोग गरिएको छ । यो प्रोसेसर सामान्य बजेट स्मार्टफोनमा प्रयोग गरिएको हुन्छ । यसबाट पनि सामान्य कामहरू मात्र गर्न सकिन्छ । एक्स-एज स्नापमा २.४ का साथै ५ गिगाहर्जको वाईफाई सपोर्ट पाउन सकिन्छ ।

सुरक्षाका लागि फोनमा साइड माउन्ट फिङ्गरप्रिन्ट, फेसलक, पिन, प्याटर्न आदि दिइएका छन् । त्यस्तै यसमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज ‍पाउन सकिन्छ । 

यी दुवै फोन एन्ड्रोइड १३ मा आधारित हुनुका साथै दुवैमा स्टक एन्ड्रोइडको यूआई अनुभव गर्न सकिन्छ । त्यस्तै दुवैमा ५,००० एमएएचको ब्याट्री, टाइप सी चार्जिङ पाउन सकिन्छ । साथै दुवै फोनमा डुअल सिम सपोर्ट पनि छ । त्यसैगरी रेडियो सुन्नेका लागि दुवैमा ३.५ एमएमको हेडफोन ज्याक दिइएको छ ।

त्यस्तै यी फोन खरिद गर्दा पारदर्शी सिलिकन कभर, १० वाटको चार्जर, यूएसबी केबल, सिम इजेक्टरसहित एउटा प्रोटेक्टर पनि पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० १९:२०